काठमाडौं । असोज २७ देखि ३१ गतेसम्म थाइल्यान्डमा आयोजना हुने एएफसी अन्डर-१७ महिला एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ। २२ दिनको छनोट कार्यक्रमपछि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन गरेका छन् । अघिल्लो महिना भुटानमा सम्पन्न साफ अन्डर-१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी बाहिरिएका छन् ।
गंगा गुरुङ, दिकी स्याङ्बा र दीक्षा रानापाल बाहिरिएका हुन् भने पूजा र आयुषासँगै गोलकिपर भूपिका शाहीले टिममा पुनरागमन गरेका छन् ।
टिममा गोलकिपरको रुपमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भूपिका शाहीलाई अवसर दिइएको छ भने डिफेन्डरको जिम्मेवारीमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूणिर्मा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु बिक रहेका छन् ।
यस्तै मिडफिल्डरको रूपमा रविना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले र सृजना बडुवाललाई जिम्मेवारी दिइएको छ । फरवार्डमा अस्मिता मगर, पूजा गिरी, यमकुमारी बिक र अनिता रानामगर टिममा सामल छन् ।
समूह 'एफ'मा रहेको नेपाललेआफ्नो पहिलो खेलमा २९ गते तुर्किमिनिस्तान र ३१ गते थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउन्ड रोविनपछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा मुख्य प्रतियोगितामा स्थान बनाउने छ ।