काठमाडौं । यूएईमा शनिबार सुरु हुने नेपाल र वेस्ट इन्डिजबीचको ३ खेलको टी-२० आई सिरिज युनिटी कपको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजन र कान्तिपुर म्याक्सबाट हुने भएको छ ।
टेलिभिजन प्रसारण अधिकारका लागि बुधबार कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर र रुटिन अफ नेपाल बन्द प्रालिका प्रमुख तथा संस्थापक भिक्टर पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यससँगै युनिटी कप टेलिभिजनमार्फत कान्तिपुर टेलिभिजन र कान्तिपुर म्याक्स तथा युट्युबमा रुटिन अफ नेपाल बन्दमा प्रत्यक्ष प्रसारण हुने छ । सम्झौताअनुसार शनिबार खेलिने प्रतियोगिताको पहिलो खेल कान्तिपुर टेलिभिजन तथा सोमबार र मंगलबार हुने २ खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने छन् ।
नेपालकै सबैभन्दा प्रतिष्ठित खेलकुद च्यानल कान्तिपुर म्याक्सले खेलकुदप्रेमी नेपाली दर्शकको सुविधालाई मध्यनजर गर्दै यसअघि इन्डियन प्रिमियर लिग आईपीएल र विम्बल्डन टेनिस प्रत्यक्ष प्रशारण गरिसकेको छ ।
हाल म्याक्समा विश्व क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता इङ्लिस प्रिमियर लिगसमेत प्रत्यक्ष प्रसारण गरिरहेको छ । म्याक्सले नेपाली पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टिमले खेल्ने अधिकतम् अन्तर्राष्ट्रिय प्रतियोगितासहित फुटबल, भलिबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।