काठमाडौं । भलिबलका प्रशिक्षक जगदीश भट्टले भलिबल संघले असहयोग गरेको भन्दै आफू संघबाट अलग भएको घोषणा गरेका छन् ।
काभा पुरुष भलिबल लिगका लागि बोलाइएको टिम अहिले विवादमा परेपछि नेपाली भलिबल टिमका सेलेक्टरसमेत रहेका भट्टले भलिबल छोड्ने घोषणा गरेका हुन् ।
भट्टसहित तीन सेलेक्टर रहेको समितिले काभाको लिगका लागि बोलाएको टिमबारे अहिले आलोचना भइरहेको छ। महत्वपूर्ण खेलाडीलाई टिमबाहिर राखेर अग्ला खेलाडीलाई मात्रै प्राथमिकता दिएको भन्दै समर्थकले टिम सेलेक्टरको विरोध गरेका हुन् ।
उनले अहिलेसम्म कसैको प्रभावमा नपरि काम गरेको तर अहिले काम गर्न नसकिने अवस्थामा बासिरहनु उपयुक्त नभएको भन्दै उनले छनोट वा खेलमा सहभागि नहुने बताएका हुन्।
उनले अब राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारीमा मात्रै रहनेसमेत जानकारी दिएका छन् । उनी राष्ट्रिय खेलकुद परिषद्काको तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक छन् ।
अहिले नेपाली भलिबलमा टिम टिमको प्रशिक्षण भइरहेको छ। भट्टले टिमलाई प्रशिक्षणमासमेत सहयोग गर्ने बताउँदै आएका छन् ।