काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीले विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेरिकी क्रिकेट संघ-यूएसएसीलाई निलम्बन गरेको छ ।
यसको अर्थ अब यूएसएसीले आईसीसीको सदस्यका रूपमा पाउने सबै अधिकार प्रयोग गर्न पाउने छैन । यद्यपि अमेरिकाको राष्ट्रिय क्रिकेट टोली आईसीसीका प्रतियोगिता तथा सन् २०२८ मा हुने ओलम्पिक खेलको तयारीमा सहभागि हुन पाउने आईसीसीले स्पष्ट पारेको छ ।
आईसीसीले यूएसएसीलाई सुधार गर्ने मौका दिने र त्यसको निगरानी गर्ने जनाएको छ । आईसीसीको यो कदम अमेरिकामा क्रिकेटलाई थप मजबुत बनाउन र यसको छवि सुधार गर्न केन्द्रित भएको बताइएको छ ।
अमेरिकाले गत वर्ष टी-२० विश्वकपका केही खेल सफलतापूर्वक आयोजना गरेको थियो । आईसीसीले यसअघि नै सन् २०२४ को वार्षिक साधारण सभामा यूएसएसीलाई गैर-अनुपालनको सूचीमा राखेको थियो ।
त्यसबेला यूएसएसीलाई आफ्ना कमजोरी सुधार्न १२ महिनाको समय दिइएको थियो । तर, जुलाई २०२४ सम्म आइपुग्दा पनि यूएसएसीले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन तथा प्रशासनिक सुधार अघि बढाउन नसकेको भन्दै पुनः चेतावनी दिएको थियो ।
यूएसएसीले कार्यसम्पादन गर्नसक्ने प्रभावकारी प्रशासनिक संरचना लागू गर्न नसक्नु, अमेरिकी ओलम्पिक तथा प्यारालम्पिक समितिसँग राष्ट्रिय खेल संघको मान्यता पाउने दिशामा कुनै ठोस प्रगति नगर्नु, यूएसएसीका केही गतिविधिले अमेरिकाभित्र र अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटको प्रतिष्ठामा नकारात्मक असर पारेको ठहर आईसीसीको छ ।
तर, निलम्बनले अमेरिकी राष्ट्रिय टोलीलाई सीधा असर पार्ने छैन । सन् २०२६ को फेब्रुअरीमा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपमा अमेरिकाको टोली खेल्नेछ । त्यस्तै, सन् २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिकमा पनि अमेरिका पुरुष तथा महिला दुवै टोली सहभागि हुनेछन् ।
आईसीसीले अस्थायी रूपमा अमेरिकी राष्ट्रिय टोलीहरूको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी आफैं लिने भएको छ । अब निलम्बन हटाउन यूएसएसीलाई आईसीसीले तोकेको सामान्यीकरण समिति र व्यवस्थापन प्रक्रियाअनुसार अघि बढ्नुपर्नेछ ।
यसका लागि उसले आफ्नो प्रशासकीय संरचना, सञ्चालन प्रणाली र सम्पूर्ण क्रिकेट वातावरणमा ठोस सुधार गर्नु जरुरी हुनेछ । सामान्यीकरण समितिले यूएसएसीको प्रगति नियमितरूपमा मूल्याङ्कन गर्ने र आवश्यक परामर्श दिने जिम्मेवारी पाउनेछ ।