डुरान्ड कप : डुरान्ड कप: त्रिभुवन आर्मी क्लब समूह चरणबाट बाहिरियो

श्रावण २०, २०८२ |खेल ब्युरो
डुरान्ड कप : डुरान्ड कप: त्रिभुवन आर्मी क्लब समूह चरणबाट बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी क्लब १ सय ३४औं संस्करणको डुरान्ड कपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा पराजित भएको छ। 

टाटा स्पोर्ट्स कप्लेक्स फुटबल रंगशालामा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब इन्डियन आर्मीसँग १-० गोलले पराजित भएको हो । नेपाली आर्मीले खेलभरी ६ प्रहार गर्‍यो भने इन्डियन आर्मीले नेपाली डिफेन्स लाइन र गोलकिपरलाई निकै ब्यस्त राखेको थियो । 

खेलको २१औं मिनेटमा नै क्रिस्टोफर केमिआईले इन्डियन आर्मीका लागि गोल गरे। खेलको बाँकी समयमा कुनै गोल नभएपछि उनको गोल नै निर्णायक भयो। पहिलो हाफमा नै गोलकिपर विकेश कुथुले रातो कार्ड ब्यहोरेपछि १० खेलाडीमा समेटिएको आर्मीले पुनरागमन गर्न नसक्दा क्वार्टरफाइनलमा पुग्ने अवसर समाप्त भएको छ । 

समूह चरणको पहिलो खेलमा आर्मी जमशेदपुरसँग ३-२ गोलले पराजित भएको थियो। दोस्रो खेलमा पनि उसले जित निकाल्न सकेन । दोस्रो खेलमा वान लद्दाखसँग एक-एक गोलको बराबरीमा रोकिएको थियो। 

आर्मीले एक अंकसहित प्रतियोगिता समाप्त गरेको हो । समूहमा खेल बाँकी रहे पनि नेपाली टिम भने बाहिरिसकेको छ। जमशेदपुर शीर्षस्थानमा छ भने इन्डियन आर्मी दोस्रो स्थानमा उक्लिएको छ।