काठमाडौं । एन्फा अन्डर सिक्सिटिन युथ लिगअन्तर्गत आइतबार बिहान भएको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले हिमालयन शेर्पा क्लबलाई २-० ले हराएको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ विजयी भएको हो।
एपीफलाई जित दिलाउन पुजन ढकालले पहिलो हाफमा र आदर्श लामिछानेले दोस्रो हाफमा गोल गरेका थिए। यो जितसँगै एपिएफले ६ खेलबाट नौ अंक बनाएको छ।
पराजित हिमालयन शेर्पाको ६ खेलबाट ८ अंक छ। आइतबार भएको दोस्रो खेलमा संकटा क्लबले मनाङ मर्स्याङदी क्लबलाई २-० ले हराएको छ। खेलको ३३ औं मिनेटमा राहुल लुहारले रातो कार्ड ब्यहोरेपछि मनाङ १० खेलाडीमा समेटिएको थियो।
५५औं मिनेटमा नुरबहादुर तिरूवाले संकटालाई अग्रता दिलाए। प्रजलकुमार लुम्रेले अर्को गोल थपेपछि संकटाले २-० को जित हात पर्यो ।
जितसँगै संकटाको १५ अंक भएको छ भने मनाङको ११ अंक छ। आजै भएको तेस्रो खेलमा प्लानिङ बोइज क्लबले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराएको छ। प्लानिङका लागि खेलको नवौं मिनेटमा रवी लुङ्गेली मगरले गोल गरे।
२३औं मिनेटमा आर्मीका लागि निरज अधिकारीले बराबरी गोल फर्काए। ३०औं मिनेटमा आशिक स्याङ्तानले गोल गरेपछि प्लानिङले फेरी अग्रता बनाएको थियो। यो नै खेलको अन्तिम नतिजा बन्यो। प्लानिङ बोइजले छ खेलबाट छ अंक बनाएको छ ।