गाजाको शरणार्थी शिविरमा पानी भर्ने क्रममा इजरायली हवाई आक्रमण, १० जनाको मृत्यु

असार ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजाको शरणार्थी शिविरमा पानी भर्ने क्रममा इजरायली हवाई आक्रमण, १० जनाको मृत्यु

एजेन्सी । गाजाको नुसेरात शरणार्थी शिविरमा पानी भर्ने क्रममा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ । मारिनेमा ६ जना बालबालिका रहेको गाजाका आपत्‌कालीन सेवाहरुले जनाएका छन् । इजरायलले बालबालिकाको मृत्युमा आफ्नो गल्ती स्वीकार गरेको छ ।

इजरायली सेनाले उक्त आक्रमणमा प्राविधिक त्रुटि भएको स्वीकार गरेको हो । इस्लामिक जिहादी लक्षित विस्फोटमा बालबालिकाको मृत्युबारे घटनाको समीक्षा भइरहेको इजरायलले जनाएको हो । उक्त आक्रमणमा घाइते भएका १६ जनाको अल(आवदा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सात जना बालबालिका छन् । प्रत्यक्षदर्शीका अनुसार पानीका जर्किन बोकी ट्यांकर नजिक पर्खिरहेको बेला ड्रोनबाट मिसाइल आक्रमण भएको थियो ।

इजरायली रक्षा बल आइडीएफले सर्वसाधारणलाई क्षति पुगेको स्वीकार गर्दै निहत्थाको क्षति कम गर्न यथासम्भव प्रयास गर्ने बताएको छ ।

सोही दिन गाजाको विभिन्न स्थानमा भएको आक्रमणमा अन्य १९ प्यालेस्टिनी नागरिक मारिएको गाजाको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।

त्यस्तै, रेडक्रसले राफाहस्थित आफ्नो फिल्ड अस्पतालमा पछिल्ला ६ हप्तामै विगत एक वर्षमा भन्दा धेरै घाइतेहरू उपचारका लागि पुगेको बताएको छ ।

शनिबार मात्रै १ सय ३२ जना घाइते भर्ना भएका थिए, जसमा ३१ जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । घाइतेमध्ये अधिकांशलाई खाद्य वितरण केन्द्रतर्फ जान खोज्दा गोली हानिएको थियो ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले दिएको तथ्यांकअनुसार अहिलेसम्म ७ सय ८९ जना राहतसँग सम्बन्धित स्थानमा मारिएका छन् ।

बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई इजरायलले गाजामा जान अनुमति दिएको छैन ।

यसैबीच ७ अक्टोबर २०२३ पछि इजरायलको आक्रमणबाट ५८ हजार २६ जनाको मृत्यु भएको गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजाका ९० प्रतिशतभन्दा बढी घरहरू ध्वस्त भएका छन् । स्वास्थ्य, पानी, सरसफाइ र खाद्यान्न आपूर्ति प्रणाली पूर्णरूपमा ध्वस्त भइसकेका छन् ।