काठमाडौं । लरेन जेम्सको दुई गोलको मद्दतमा महिला युरो कप २०२५ अन्तर्गत समूह डीको खेलमा इंग्ल्यान्डले नेदरल्याण्ड्सलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
यससँगै उपाधि रक्षा गर्ने अभियानमा रहेको इङ्ल्यान्डको नकआउट चरणमा पुग्ने आशा बलियो बनेको छ । पहिलो हाफमै आक्रामक प्रदर्शन गरेको इंग्ल्यान्डले २२औं मिनेटमा जेम्सको गोलमार्फत् अग्रता लिएको थियो । ४५औं मिनेटतिर डच टिमले फ्रिकिक क्लियर गर्न नसक्दा जर्जियाले बाकसभित्रैबाट लो-सटमार्फत दोस्रो गोल थपिन् ।
६० औं मिनेटमा हेम्पको क्रसमा जेम्सले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३-० बनाइन् । खेलको ६७ औं मिनेटमा रूसोको पासमा एला टुनेले चौथो गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरिन् ।
यसै समूहको अर्को खेलमा वेस्ल फ्रान्ससँग ४-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । फ्रान्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने समान ३-३ अंक जोडेका इंग्ल्यान्ड र नेदरल्यान्ड्स क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । वेल्सले अंकको खाता खोल्न सकेको छैन । समूह डीमा रहेका सबै टिमले १-१ खेल खेल्न बाँकी छ ।