पीएसजी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पीएसजी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस जायन्ट्स रियाल मड्रिडविरुद्ध प्रभावशाली जित हात पार्दै फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन-पीएसजी फिफा क्लब विश्वकप २०२५ को फाइनलमा प्रवेश गरेको छ ।

मेटलाइफ स्टेडियममा गएराति सम्पन्न खेलमा रियालविरुद्ध ४-० को फराकिलो जित हात पार्दै पीएसजीले चेल्सीसँगको उपाधि भिडन्त तय गरेको हो ।

खेलको सुरुवाती २४ मिनेटमै तीन गोल गर्दै पीएसजीले रियालको सम्भावनामा पूर्णविराम लगाएको थियो । क्लब विश्वकपमा अहिलेसम्म अपराजित रहेको रियालले २० वर्षपछि पहिलोपटक पहिलो २४ मिनेटमै तीन गोल बेहोरेको हो ।

खेलको छैटौं मिनेटमा फाबियान रूइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि एन्टोनियो रुडिगरको मिसकिकको फाइदा उठाउँदै उस्मान डेम्बेलेले नवौं मिनेटमा दोस्रो गोल गरे । २४औं मिनेटमा अच्राफ हाकिमी र डेम्बेलेको आकर्षक कम्बिनेशनबाट बनेको मुभलाई रूइजले गोलमा परिणत गरे ।

रियालले चोटका कारण ट्रेन्ट एलेक्ज्यान्डर-आर्नोल्ड बिना खेलेको थियो र खेलभरि प्रभावहीन देखियो । अन्तिम समयमा गोन्सालो रामोसले चौथो गोल थप्दै पीएसजीको शानदार जित सुनिश्चित गरे ।

यो खेलमा पीएसजीका पूर्व स्टार किलियन एम्बाप्पे मैदानमै थिए । तर उनी अहिले ट्रफीविहीन रियालका सदस्य बनेका छन् ।

लुइस एनरिकको प्रशिक्षणमा पीएसजीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । च्याम्पियन्स लिगमा सानदार प्रदर्शन गर्दै पहिलो पटक उपाधि जितेको पीएसजी अव क्लब विश्वकप आफ्नो बनाउने लक्ष्यमा छ । पीएसजीले पछिल्ला पाँच नकआउट खेलहरूमा १८ गोल गर्दा कुनै गोल बेहोरेको छैन । पीएसजीले अब आइतवार फाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ । त्यसपछि १३ अगस्टमा युएफा सुपर कपमा टोटनहमसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.