काठमाडौं । स्विजरल्याण्डकी बेलिन्डा बेन्चिचले करिअरमै पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाएकी छन् ।
रसियन सातौं वरियताकी मिर्रा आन्द्रेएभालाई ७-६, ७-६ ले हराउँदै बेन्चिच अन्तिम चारमा प्रवेश गरेकी हुन् । २८ वर्षीया बेन्चिच सिंगल्स ड्रमा बाँकी रहेकी एकमात्र आमा खेलाडी हुन् । उनी दोस्रो सेटको टाइब्रेकरमा पहिलो म्याच प्वाइन्ट जित्दै सन् १९९८ पछि विम्बल्डनको सेमिफाइनल पुग्ने पहिलो स्विस महिला खेलाडी बनिन् ।
१८ वर्षिया आन्द्रेएभाले पहिलो सेटमा चार एस प्रहार गरेकी थिइन्, तर टाइब्रेकरमा दुई पटक फोरह्यान्ड नेटमा प्रहार गरेपछि सेट गुमाइन् । दोस्रो सेटमा बेन्चिचले ४-४ को स्थितिमा दुई ब्रेक प्वाइन्ट बनाएकी थिइन् । अब उपाधि यात्रा अघि बढाउन उनलाई पाँच पटककी ग्रान्डस्ल्याम विजेता पोल्यान्डकी ईगा स्विन्तेकको चुनौती पार गर्नुपर्नेछ ।