काठमाडौं । विम्बल्डन २०२५ को पुरुष सिंगल्सतर्फको सेमिफाइनलमा सात पटकका च्याम्पियन नोभाक जोकोभिच र विश्व नम्बर एक यानिक सिन्नरबीच प्रतिस्पर्धा हुने भएको छ ।
गए राति सेन्टर कोर्टमा सम्पन्न खेलमा ३८ वर्षीय जोकोभिचले इटालीका २२औं वरियता प्राप्त फ्लाभियो कोबोल्लीलाई ६-७, ६-२, ७-५ र ६-४ ले पराजित गर्दै विम्बल्डनको सेमिफाइनलमा १४औं पटक स्थान बनाएका हुन् । यससँगै उनले रोजर फेडररको सबैभन्दा धेरै १३ सेमिफाइनल खेलेको कीर्तिमान पनि तोडेका छन् ।
कोबोल्लीले पहिलो सेट जित्दै आक्रामक सुरुवात गरे पनि अनुभवी जोकोभिचले बाँकी तीन सेटमा सहज पकड जमाए । खेलमा केही उतारचढाव देखिए पनि अन्तिम सेटमा जोकोभिचले लगातार तीन गेम जित्दै जित पक्का गरे । दोस्रो म्याच प्वाइन्टमा चिप्लिए लडेर पनि उनले चोट नलागेको बताएका छन् । यो जितसँगै जोकोभिचले विम्बल्डनमा कुल १०२ खेल जितेका छन् ।
यस्तै सिन्नरले अमेरिकी १०औं वरियताका बेन सेल्टनलाई ७-६, ६-४ र ६-४ को सोझो सेटमा पराजित गरे । चोटग्रस्त कुहिनोमा पट्टी बाँधेर खेलेका सिन्नरले आफ्नो लयलाई यथावत राखे । जोकोभिच र सिन्नर यसै बर्ष दोस्रो पटक ग्रान्डस्ल्याम सेमिफाइनलमा भिड्ने भएका हुन् । फ्रेन्च ओपनको सेमिफाइनलमा सिनरले जोकोभिचलाई सोझो सेटमा हराएका थिए । पछिल्ला चारै खेल सिन्नरले जिते पनि विम्बल्डनमा भने जोकोभिच दुईपटक विजयी भएका छन् ।