काठमाडौं । जितको अत्यन्त नजिक पुगेर पनि अन्तिम क्षणमा चुक्नु । नेपाली महिला फुटबल फेरि त्यही नियतिबाट गुज्रिएको छ । उज्बेकिस्तानसँगको पेनाल्टी हारले सिंगो राष्ट्रको सपना चकनाचुर पारेको छ । यस हारले नेपाललाई एसियन कपको मात्र होइन, विश्वकप र ओलम्पिकको बाटो पनि बन्द गरिदिएको छ । यसले महिला फुटबलको मात्र नभई, रणनीति, दीर्घकालीन योजना र संस्थागत कुशलता अभाव समेत उजागर गरेको छ ।
जितको नजिक पुगेर पनि पराजित हुने इतिहास फेरि दोहोरिएको छ नेपाली महिला फुटबलमा । उज्बेकिस्तानको तासकन्दमा इतिहास कोर्ने अवसरसहित मैदान उत्रिएको नेपाली टोली अन्ततः हारको नमीठो पीडा बोकेर बाहिरियो । ९० मिनेटभित्र गरेको असाधारण पुनरागमन र खेललाई ३-३ को रोमाञ्चक स्थितिमा ल्याएको संघर्षलाई अन्ततः पेनाल्टी सुटआउटले धोका दियो ।
पेनाल्टीमा सावित्राको पहिलो प्रहार चुक्दा नेपाली सपनामा दरार परेको थियो । त्यसपछि अन्जना रानामगरको चुकले त्यस दरारलाई एकैछिनमा भग्नावशेषमा परिणत गरिदियो । उज्बेकिस्तानका चारै प्रहार गोलमा परिणत हुँदा नेपालका २ प्रहार मात्र सफल भए । अन्तिम स्कोरलाइन ४-२ हुँदा नेपालका लागि एकसाथ एसियन कप २०२६, फिफा महिला विश्वकप २०२७ र ओलम्पिक २०२८ को ढोका पनि बन्द भयो ।
उज्बेकिस्तान भ्रमण नेपाली महिला फुटबलका लागि सनसनीपूर्ण बन्दा विवादबाट भने मुक्त हुन सकेन । युरोपमा इतिहास रचिसकेकी सावित्राले १०० औं खेलमा कप्तानी गर्दै ह्याट्रिक गरिन् । लाओस र श्रीलंकामाथि एकतर्फी जित निकाल्दा एसिया कपको सपना साकार हुनेमा सबै प्रशसंक विश्वस्त थिए । तर, घरेलु टोली उज्बेकिस्तानका अगाडि निर्णायक क्षणमा सम्हालिन नसक्नु ठूलो चुक सावित भयो । यस खेलमा नेपालले रणनीतिक कमजोरी गर्यो । कप्तानी गुमेकी, अनुभवी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा बेन्चमै सीमित भइन् । यो परिवर्तन स्वाभाविक थिएन । यो व्यवस्थापनको खिचातानी र अव्यवस्थाको उपज थियो ।
यति मात्र होइन, महिला फुटबलमा नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्ड र टिम व्यवस्थापनको विवाद पनि यस पटक छताछुल्ल भयो । नयाँ कप्तान नियुक्तिलाई लिएर उत्पन्न विवादले खेलाडीको एकता र मानसिकतामा कस्तो असर गर्यो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
उता, छिमेकी बंगलादेशले चार वर्षमा दुई पटक साफ महिला उपाधि जितिसक्यो । २०२६ को एसियन कप पनि खेल्दै छ । १ दर्जनभन्दा बढी फाइनल खेलेको नेपाल भने उपाधिविहीन छ । बंगलादेशले जरा मजबुत बनाउँदै अन्तर्राष्ट्रिय फुटबलमा उडान लिइरहँदा, नेपाल भने हरेक फाइनलमा केवल पीडा बोकेर फर्किरहेको छ । दक्षिण एसियाली उपविजेताको ट्याग हटाउन सकिरहेको छैन ।
उसो त नेपालले यसअघि पनि ३ पटक एसियन कप खेलिसकेको छ । तर छनोट प्रतियोगितामार्फत आफूलाई प्रमाणित गर्न भने सकेको छैन । यो पराजय महिला फुटबलको मात्र हैन, नेपाली फुटबलकै रणनीति, दीर्घकालीन योजना र संस्थागत असफलता हो । यो हारको अर्थ सबथोक समाप्त भयो भन्ने पक्कै होइन । सपना भने निश्चितरूपमा पछि धकेलिएका हुन् ।