नेपाल एएफसी महिला एसियन कप २०२६ मा छनोट हुन असफल

समूहको अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा ४-२ गोलले पराजित
असार २२, २०८२ |खेल ब्युरो
नेपाल एएफसी महिला एसियन कप २०२६ मा छनोट हुन असफल

काठमाडौं । नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ मा छनोट हुन असफल भएको छ । 

छनोट चरणअन्तर्गत गएराति सम्पन्न समूह एफको अन्तिम खेलमा नेपाल घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा ४-२ ले पराजित भएको हो ।

ताशकन्दमा भएको खेलको निर्धारित सयम ३-३ को रोमाञ्चक बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । खेलको दोस्रो मिनेटमै उज्वेकिस्तानले अग्रता लिएको थियो । 

११औं मिनेटमा खाबिबुलेएभाले गोल गरेपछि उज्वेकिस्तानले अग्रता दोब्बर बनायो । नेपालका लागि सावित्रा भण्डारीले २४औं मिनेटमा गोल गर्दै अन्तर घटाइन् । तर ३९औं मिनेटमा माफ्तुना शोयी-मोभाले पेनाल्टीमार्फत गोल गर्दै उज्वेकिस्तानको अग्रता पुनः फराकिलो बनाइन् ।

पहिलो हाफको इन्जुरी समयमा एर्गासेभाले दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाएपछि उज्वेकिस्तान १० खेलाडीमा सीमित भएको थियो । नेपालले पहिलो हाफमै डिफेन्डर निशा थोकरलाई हटाएर प्रीति राईलाई मैदानमा उतारेको थियो ।

दोस्रो हाफमा नेपालले सानदार कमब्याक गर्यो । सावित्राले ७०औं र ७१औं मिनेटमा लगातार दुई गोल गर्दै नेपाललाई ३-३ को बराबरीमा ल्याइन् । त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

टाइब्रेकरमा कप्तान सावित्राको प्रहार बारमा लाग्दा अन्जना रानामगरको प्रहार उज्वेकिस्तानकी गोलकिपरले बचाएकी थिइन् । गीता राना र सबिता रानामगर भने गोल गर्न सफल भएका थिए । 

उज्वेकिस्तानले चारै पेनाल्टी गोलमा परिणत गरेपछि नेपाल छनोट हुन अफल भयो । यस जितसँगै उज्वेकिस्तानले २०२६ मा अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाएको छ ।