फिफा क्लब विश्वकप: पहिलो क्वार्टरफाइनल ब्राजिलियन क्लब फ्लुमिनेन्स र साउदी अरबको अल-हिलालबीच

असार २०, २०८२ |खेल ब्युरो
फिफा क्लब विश्वकप: पहिलो क्वार्टरफाइनल ब्राजिलियन क्लब फ्लुमिनेन्स र साउदी अरबको अल-हिलालबीच

काठमाडौं । फिफा क्लब विश्वकप २०२५ अन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा शुक्रवार राति ब्राजिलियन क्लब फ्लुमिनेन्स र साउदी अरबको अल-हिलालबीच प्रतिस्पर्धा हुँदैछ ।

अमेरिकाको फ्लोरियास्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

युरोपेली जायन्टहरूलाई पाखा लगाउँदै क्वार्टरफाइनल पुगेका दुवै टोली अन्तिम चारमा प्रवेश गर्ने लक्ष्यमा हुनेछन् ।

फ्लुमिनेन्सले अन्तिम १६ मा इन्टर मिलानमाथि २-० को जित हात पारेको थियो । ऊ पछिल्ला १० खेलदेखि अपराजित छ । पछिल्ला ६ खेलमध्ये ५ मा क्लिनसिट राखेको टोलीका लागि थियागो सिल्भाको नेतृत्वमा रहेको डिफेन्स बलियो साबित भइरहेको छ ।

यता अल-हिलालले ७ गोलको थ्रिलर म्याचमा म्यानचेस्टर सिटीलाई ४-३ ले हराउँदै अन्तिम ८ को यात्रा तय गरेको हो । अल-हिलाल प्रतियोगिताको इतिहासमै युरोपेली क्लबविरुद्ध जित हात पार्ने पहिलो एसियन टोली बनेको थियो । सिटीसँगको खेलमा अल-हिलालले केवल ६ शटमा ४ गोल गर्दै फिनिशिङमा आश्चर्यजनक प्रदर्शन गरेको थियो ।

चार पटकको एएफसी च्याम्पियन अल-हिलालले यसअघि समूह चरणमा रियाल मड्रिडसँग बराबरी खेलेको थियो । ऊ ९ खेल यता अपराजित छ भने क्वार्टरफाइनलमा पनि प्रभाव छोड्ने योजनामा छ ।

यस ‘रियोविरुद्ध रियाद’ भिडन्तको विजेता टोलीले सेमिफाइनलमा पामेइरास वा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।