न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमी नेपालमा बिहानैदेखि वर्षा

गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
चैत्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमी नेपालमा बिहानैदेखि वर्षा

काठमाडौं । नेपालको पश्चिम क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरू भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको छ । काठमाडौंमा पनि हल्का वर्षा भएको छ । विभागका अनुसार पश्चिम नेपालको डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ भने उक्त प्रणाली चितवनसम्म आइपुगेको छ । 

विभागका सूचना अधिकारी दिनकर कायस्थले गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भएको जानकारी दिनुभयो । हाल मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने कोसी र गण्डकी प्रदेशमा आंशिक बादल लागेको छ । 

विभागद्वारा आइतबार जारी मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशकापहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ । देशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा हुनुका साथै थोरै क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै अझै केही दिन बदली कायम रहने विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.