काठमाडौं । स्पेन युएफा नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनल खेलमा फ्रान्सविरूद्ध ५-४ को रोमाञ्चक जितसहित स्पेन उपाधि नजिक पुगेको हो ।
स्पेनले ४ गोलको विशाल अग्रता गुमाएपनि अन्त्यमा जित सुनिश्चित गर्यो । खेलको उत्तरार्धमा फ्रान्सले तीव्र प्रतिक्रिया जनाएपनि स्तब्ध हुन पुग्यो ।
अब उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको स्पेनले आइतबार म्युनिखमा उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ । पराजित फ्रान्सले तेस्रो स्थानका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।
२२औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि मिकेल मेरीनोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।
५४औं मिनेटमा यमालमाथि फ्रान्सका खेलाडीले गतल ट्याकल गरेपछि स्पेनले पेनाल्टी पायो । उक्त अवसरलाई यमालले सहजै गोलमा परिणत गरे । त्यसको १ मिनेट पछि पेड्रीले स्पेनका लागि चौथो गोल गरे । तर त्यसपछि फ्रान्सले उत्कृष्ट प्रतिक्रिया जनायो ।
५९औं मिनेटमा केलियन एमबाप्पेलाई पेड्रोले बक्सभित्र लडाए । पेनाल्टीमा एमबाप्पेले सहजै गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने कोशिश गरे ।
यामालले ६७औं मिनेटमा अर्को गोल थप्दै स्पेनलाई ५-१ को अग्रता दिलाए । ८०औं मिनेटमा केलियन एमबाप्पेले उत्कृष्ट पास गरेपछि यसै खेलमार्फत् डेब्यू गरेका रायान चेर्कीले पहिलो टचमै गोल गरे ।
८७औं मिनेटमा डानी भिभियनले आफ्नै पोस्टमा आत्माघाती गोल गरेपछि फ्रान्सले उहार गोल पायो । इन्जुरी समयमा कोलो मुआनीले हेडमार्फत् गोल गर्दै स्कोर ५-४ बनाए । तर अन्तिम मिनेटमा दबाब खेप्दै स्पेन जित हात पार्न सफल भयो ।