काठमाडौं । विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुँना टोली भारतको आसाम क्रिकेट क्लब विजयी भएको छ ।
वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको समुह बीअन्तर्गतको दोस्रो लिग खेलमा आसामसँग आयोजक कोशी प्रदेश ९७ रनले पराजित भएको हो।
मङ्गलबार विभागिय टोली पुलिसलाई ३७ रनले स्तब्ध पार्दै पहिलो पटक जित निकालेको कोशीले आसामसँग पराजित भएपछि फाइनलमा पुग्ने सम्भावना कमजोर भएको छ ।
आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आसामले ४७ दशमलव ३ बलमा सबै विकेट गुमाई २ सय नौ रनको बनायो। आसामका कप्तान गोकुल शर्माले ९९ बलमा दुई छक्का र सात चौका प्रहार गर्दै ७८ रन बनाउँदा अरूण सोनारले ५१ रनको योगदान दिए ।
कोशीका प्रेम कामतले १० ओभरमा तीन मेडन राख्दै चार विकेट लिँदा विपिनकुमार महतो र भुपाल लुइटेलले दुई-दुई विकेट आफ्नो नाममा गरे। जवाफमा दुई सय १० रनको लक्ष्य पाछ्याएको कोशी ३७ दशमलव दुई बलमा सवै विकेट गुमाई एक सय १२ रनमा सिमित भयो । कोशीका पुछारका ब्याटर विपिनकुमार महतोले १५ रन बनाउँदा यस भट्टराईले पनि १५ रन जोडे ।
ओपनर ब्याटर चिराग कबहले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । आसामका टपनकुमार शर्माले तीन विकेट लिए । आसामले पहिलो जित हात पार्दै २ अङ्क बटुलेको छ भने कोशीको पनि २ अङ्क नै छ ।
नेट रन रेटमा कोशी आसामभन्दा पछि छ । आसामले भोलि पुलिसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलले फाइनल पुग्ने टोलीको निर्धारण गर्नेछ।