क्यानले ५२ खेलाडीलाई समेटेर कोर क्याम्पमा राख्ने, क्याम्पमा थपिए चार खेलाडी

वैशाख ९, २०८२ |खेल ब्युरो
क्यानले ५२ खेलाडीलाई समेटेर कोर क्याम्पमा राख्ने, क्याम्पमा थपिए चार खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ५२ खेलाडीलाई समेटेर कोर क्याम्पमा राख्ने भएको छ । क्यानले आज जारी गरेको सूचनामा पहिलेको भन्दा चार खेलाडीलाई थप गर्ने निर्णय गरेको हो ।

मूलपानीको तल्लो र माथिल्लो क्रिकेट मैदानमा भएको अन्डर-नाइन्टिन विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री, नरेन भट्ट र सन्तोष यादवलाई समेटेर क्यानले कोर क्याम्पमा राख्ने भएको हो । 

कमलसिंह ऐरीलाई पनि क्याम्पमा बोलाइएको छ । क्यानले अस्ट्रेलियाका स्टुवर्ट ललाई अनुबन्ध गरेपछि राष्ट्रिय टिममा खेलाडी छनोटका लागि ५२ खेलाडीलाई कोर क्याम्पमा बोलाएको हो । 

यी खेलाडीलाई समान १३/१३ जनाको चार समूहमा विभाजन गरिएको छ । यी टिमबीच यही वैशाख १३ गतेदेखि डबल राउन्ड रोविन शैलीमा प्रतियोगिता हुनेछ । 

यसअघि प्रशिक्षक स्टुअर्ट यही वैशाख १२ गते नेपाल आइुपुग्ने क्यानले जानकारी दिएको छ । स्टुअर्टले यही मे १ तारिखबाट नेपाली टिम सम्हाल्ने भनिए पनि त्यसअघि नै उनी नेपाल आइपुग्न लागेका हुन् । यो अभ्यास क्याम्पबाट उनले खेलाडीको प्रदर्शन अवलोकन गर्नेछन् ।

क्याम्पमा सहभागी खेलाडीलाई ब्ल्यु, ग्रिन, रेड र यल्लो गरी चार समूहमा विभाजन गरिएको छ । ब्ल्युको कप्तानी रोहित पौडेल, ग्रिनको आसिफ शेख, रेडको सन्दीप लामिछाने र यल्लोको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने क्यानले तयार गरेको सूचीमा उल्लेख छ ।