काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पिएसजीले मोनाकोलाई ४-१ गोलले हराएको छ । पिएसजीलाई जित दिलाउन ओउसमान डेम्बेलेले दुई गोल गरे ।
पार्क डेस प्रिन्सेसमा भएको खेलको छैटौं मिनेटमा नै गोल गरेर घरेलु टोली पिएसजीले अग्रता बनाएको थियो । पोर्चुगिज मिडफिल्डर भिटिन्याले छैटौं मिनेटमा गोल गरेर पिएसजीलाई ब्रेकथ्रु दिलाए । त्यसैगरी, १७औं मिनेटमा डेनिस जाकारियाले मोनाकोको लागि गोल फर्काएपछि भने खेल एक-एक गोलको प्रतिस्पर्धात्मक अवस्थामा पुग्यो ।
६४ प्रतिशत समय बल नियन्त्रणमा राखेको पिएसजीले पहिलो हाफमा थप गोल गर्न सकेन । तर, दोस्रो हाफको ५४औं मिनेटमा खविचा कव्रास्त-खेलियाले गोल गरे । उनले ब्राडली बार्कोलाको पासमा गोल गरेका हुन् । त्यसैगरी, खेलको ५७औं मिनेटमा डेम्बेलेले व्यक्तिगत पहिलो गोल गरे । यो गोलले टिमको स्कोर ३-१ मा पुर्यायो ।
सहज अवस्थामा पुगेको पिएसजीका लागि डेम्बेलेले ९०औं मिनेटमा अर्को गोल गरे । यो गोलका लागि डेम्बेलेलाई नुनो मेन्डिसले पास उपलब्ध गराएका थिए । जितसँगै पिएसजीले २१ खेलबाट ५३ अंक बनाएको छ । मोनाको ३७ अंकका साथ तेस्रो स्थानमा छ । गएरातिको पराजयले मोनाकोले दोस्रो स्थानको मार्सेसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।