काठमाडौं । कबड्डी पहिले नेपालको राष्ट्रिय खेल सरह मानिन्थ्यो । तर, यसका ठूला प्रतियोगिता भने आयोजना हुँदैनथे, घरेलु प्रतियोगिता गर्न पनि कसैको रुचि थिएन ।
तर एक दशकअघि भारतमा सुरू भएको प्रो कबड्डी लिगको नेपाली संस्करण भर्खरै काठमाडौंमा आयोजना गर्दा यो खेलको नेपालमा परीक्षण भएको छ । कस्तो रह्यो त पहिलो संस्करण ?
नेपाल कबड्डी लिगको सुरूदेखि अन्तिम दिनसम्ममा बढ्दै गरेको दर्शक संख्याले यो खेल आगामी दिनमा लोकप्रिय बन्ने संकेत देखाउँछ । कबड्डीको फ्रेन्चाइज लिगको आयाजना बेगानी समूहको एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालीले गर्यो । भारतमा आईपीएलपछि दोस्रो धेरै हेरिने खेल भएका कारण नेपालमा पनि कबड्डीको फ्रेन्चाइज आयोजना भएको हो । दशरथ रंगशालाको कभर्डहलमा १५ दिनसम्म चलेको प्रतियोगिताको फाइनलमा काठमाडौं माभरिक्सलाई हराउँदै जनकपुर नाइट्सले उपाधि जितेको थियो । प्रतियोगिताको आयोजनाले उत्साह थपिएको खेलाडीको अनुभव छ ।
फ्रेन्चाइजका लागि जिल्ला, प्रदेश र केन्द्र गरी तीन तहमा खेलाडी छनोट गरिएका कारण देशका राम्रा खेलाडी सहभागी बनेका थिए । प्रतियोगिताले भविष्यमा खेलाडी उत्सादनमा सघाउ पुग्ने विश्वास लिइएको छ ।
१९ औं एसियाली खेलकुदमा कास्य पदक जितेको महिला कबड्डी टिमले भारतमा अर्को महिना हुने विश्वकपमा खेल्ने अवसर पाएको छ । कबड्डी लिगले पुरुष टिमले पनि ठूलो प्रतियोगितामा पदक जित्ने आशा बढाएको छ भने राष्ट्रिय टोली बलियो हुने विश्वास गरिएको छ ।
पहिलो संस्करणका धेरै कमजोरी पनि रहे । बेगानी समूहले सबै क्लबको स्वामित्व आफैंमा सीमित गरेको छ । क्लबको तर्फबाट उसले मार्केटिङ पनि गर्न उचित ठानेन । तर, अन्य समूहलाई पनि खेलमा सहभागी बन्ने अवसर दिनु आवश्यक छ । व्यावसायिक लिग भनिए पनि पाँच लाखको च्याम्पियन पुरस्कार राशि आकर्षक देखिँदैन। त्यसमाथि वर्षमा १५ दिन मात्रै प्रतियोगिता आयोजना गरेर खेलाडी कबड्डी खेलेरै बाँच्ने आधार तयार भयो भन्ने दाबी चाहिँ सुहाउने कुरा होइन ।