काठमाडौं । ब्राजिलका चर्चित फुटबलर नेयमार साउदी प्रो लिग च्याम्पियन हिलालबाट अलग्गिएका छन् ।
चोटका कारण क्लबमा निराशाजनक समय बिताएपछि दुवै पक्षबीचको आपसी सहमतिमा नेयमारले अल-हिलाल छाडेका हुन् । ३२ वर्षीय नेयमार अक्टोबर २०२३ फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वेविरुद्धको खेलका दौरान घाइते भएका थिए । उनको घुँडामा चोट लागेको थियो । त्यसयता उनी पूर्णरुपमा फिट हुन सकेका छैनन् ।
नेयमार अगस्ट २०२३ मा पेरिस सेन्ट जर्मेन पीएजीबाट करिब ९८ मिलियन डलरमा मध्यपूर्वी टोलीमा सामेल भएका थिए । त्यसयता उनले अल हिलालका लागि केबल सात खेल खेलेका छन् ।
ब्राजिलियन मिडियाका अनुसार राष्ट्रिय टोलीका लागि ७९ गोल गरेका नेयमार आफ्नो बाल्यकालको क्लब सान्तोसमा फर्कन सक्छन् । उनी सन् २०१७ अगस्टमा २ सय २२ मिलियन युरोको विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पीएसजी गएका थिए ।