काठमाडौं । नेपाल एपीएफ क्लबले लगातार चौथो पटक एन्फा महिला लिगको उपाधि जितेको छ। आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
प्रतियोगितामा एपीएफले अपराजित रहँदै उपाधि उचाल्यो । एपिएफले लिगका १९ खेलमा १८ जित र एक बराबरीको नतिजा हात पारेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा एपीएफ र पुलिस क्लव दुवैले गोलरहित बराबरी खेले । ६४औं मिनेटमा सविता राना मगरको गोलमार्फत एपीएफले अग्रता लियो । सरु लिम्बूको क्रसमा सविताले सहजै गोल गरिन् । त्यसको ६ मिनेटपछि नै सरुको गोलमार्फत एपीएफले अग्रता दोब्बर पार्यो । रश्मिकुमारी घिसिङको हेडर बारमा लागेर फर्किएको बलमा सरुले फिनिस गरेकी हुन् ।
८४औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरिन् । प्रीति राईले मिडफिल्डभन्दा परबाट मिलाएको सानदार पासमा सविताले सहजै गोल गरेकी हुन् । लगत्तै प्रीतिको प्रहार माथिल्लो बारमा लागेर फर्किएको थियो ।
इन्जुरी समयमा वैकल्पिक खेलाडी अनु लामाले गोल गर्दै एपीएफलाई ४-० को जित दिलाइन् । उनी ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । अनुले यसै खेलमार्फत व्यावसायिक खेलाडीबाट सन्यासको घोषणा गरेकी छन् ।