काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणको उपाधिका लागि भोलि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम डिजर्भिङ फाइनालिस्ट पनि हुन् ।
एनपीएलका ३२ मध्ये अब मात्र एक खेल बाँकी छ र त्यो हो ग्रान्ड फिनाले । फाइनलमा टीयू क्रिकेट मैदान हाउसफुल हुनेछ । समर्थकले एनपीएल एल क्लासिको ट्याग दिएको खेलमा आमने-सामने हुनेछन् दीपेन्द्रसिंह ऐरी र आशिफ शेख । लिग चरण र क्वालिफायर्समा सुदूरपश्चिमले बाजी मार्यो । तर शनिबार दुवै टिमले शून्यबाट सुरुवात गर्नेछन् ।
सुदूरपश्चिमले लिगको शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्दा जनकपुरलाई नै ८ विकेटले पराजित गर्यो । जनकपुरले भने कर्णाली याक्समाथि दुई विकेटको सनसनीपूर्ण जीत हात पारेपछि यी दुईको फाइनल भेट पक्का भएको हो ।
सुरुवाती चार खेल खेल्दै जनकपुरले आफूलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्दा पहिलो हार सुदूरपश्चिमसँगै बेहोर्यो । त्यो पनि प्रतियोगिताकै सवैभन्दा न्यून योगफल ५१ रनमा समेटियो ।
टप अर्डर नचल्दा लय गुमाएको जनकपुरको जिम्मेवारी जिम्मी निसमको काँधमा छ । प्ले अफअघि नियमित कप्तान अनिल साहलाई चोटका कारण गुमाएको जनकपुरको मुख्य चिन्ता अहिले ब्याटिङमा छ ।
टिम वर्क सुदूरपश्चिमको विषेशता हो । हरेक खेलमा फरक-फरक खेलाडीले योगदान गरेपछि सुदूरपश्चिम सबैभन्दा बलियो टिमको रुपमा स्थापित भएको छ । ओपनिङमा विनोद भण्डारी र सैफ जेब जम्दा ब्रान्डन मक्मलेन, इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीलाई क्रिजमा लामो समय टिक्न सहज भइरहेको छ ।
टी-ट्वेन्टी आईका विश्व नम्बर दुई अल राउन्डर दीपेन्द्र मोस्ट भ्यालुएवल प्लेयरका दाबेदार पनि हुन् । जनकपुरले स्कट कुगेलाइनलका लागि राम्रो होमवर्क गरेको छैन भने घातक हुन सक्छ । जनकपुरका ललित राजबंशीको स्पिन र किशोर महतोको पेसले हरेक खेलमा विपक्षी ब्याटरको परीक्षण गरिरहेको छ ।
सुदूरपश्चिमले फाइनल यात्रा तय गर्दा सम्मका आठ मध्ये एक खेल मात्र हारेको छ । लिगमा चितवन राइनोजले सुदूरको अपराजित यात्रामा ब्रेक लगाइदिएको थियो । त्यसयता जगत टमाटाको टिमले खेलेका चारै खेलमा जित हात पारेको छ ।
जनकपुर भने पछिल्ला पाँच खेलमा दुईमा मात्र विजयी भएको छ । हारेका सबै खेलमा टप अर्डर चलेका छैन् । यो खेल दुई दाजु-भाइबीचको प्रतिस्पर्धा पनि हो । आसिफले जनकपुरको नेतृत्व गर्दा उनका दाजु आरिफ सुदूरपश्चिमको प्रतिनिधित्व गरिरहेका छन् ।