अन्डर नाइन्टिन एसिया कप : फाइनलमा पुग्न नेपाल र बंगलादेश भिड्दै

पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
अन्डर नाइन्टिन एसिया कप : फाइनलमा पुग्न नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । एसीसी अन्डर नाइन्टिन महिला एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । मलेसियाको बायुमास क्रिकेट ओभल, क्वालालम्पुरमा खेल नेपाली समय अनुसार पौने १२ बजे हुनेछ ।

हिजो नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको थियो । वर्षाले खेल रद्द भएपछि दुवै टिमले एक-एक अंक बाँडेका थिए । बिहीबार नै सम्पन्न खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो । फाइनलमा पुग्न नेपाल र बंगलादेश दुबैलाई आजको खेल जित्नैपर्ने अवस्था छ । 

नेपालले आज बंगलादेशलाई पराजित गरेमा फाइनलमा पुग्नेछ । नेपाल समूह ‘बी’ को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । भारत र पाकिस्तान सम्मिलित समूहमा रहेको नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतसँगको खेल भने वर्षाका कारण प्रभावित हुँदा विना नतिजा रद्द भएको थियो । 

नेपालका लागि कप्तान पूजा महतोले शानदार अलराउन्ड प्रदर्शन गर्दै आएकी छन् । प्रतियोगिताभर कुल ७२ रन बनाएकी पूजा सर्वाधिक रन स्कोर गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनले ३ विकेट समेत हात पारेकी छन् । रिया शर्मा र रचनाकुमारी चौधरीले पनि राम्रो बलिङ गर्दै आएका छन् । सोनी पाख्रिन र एलिसा कुमारी यादवको ब्याट आज चल्नु आवश्यक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement