१० खेलाडीमा समेटिएको लिभरपूलले फुलह्यामसँग खेल्यो बराबरी

मंसिर ३०, २०८१ |खेल ब्युरो
१० खेलाडीमा समेटिएको लिभरपूलले फुलह्यामसँग खेल्यो बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपूलले फुलह्यामसँग २-२ गोलको बराबरी खेलेको छ । १० खेलाडीमा समेटिएको घरेलु टिम लिभरपूललाई दुई पटक पछि परेको स्थितिबाट डिएगो जोटाले जोगाए ।

एनफिल्डमा गए राति भएको खेलको पहिलो हाफमा एक गोल हुँदा एक रातो कार्ड र चार पहेंलो कार्ड दिइएको थियो । ११औं मिनेटमै पाहुना टिम फुलह्यामले आन्द्रियस परेराको गोल मार्फत खेलमा अग्रता लियो । १-० ले पछि परेको लिभरपूललाई १७औं मिनेटमा अर्को झट्का लाग्यो । एन्ड्रिउ रोबर्टसन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लिभरपूल १० खेलाडीमा झरेको थियो । त्यसपछिको समय लिभरपूलका लागि झन् कठिन बन्यो ।

४७औं मिनेटमा लिभरपूलले बराबरी गोल फर्कायो । मोहम्मद सलाहको क्रसमा कोडी गाक्पोले हेडर गोल गरेपछि आर्ने स्लटलाई राहत मिल्यो । ७६औं मिनेटमा रोद्रिगो मुनिसले गोल गरेपछि फुलह्याम फेरि खेलमा २-१ गोलले अघि बढ्यो । यो खेलमा लिभरपुलले अंक गुमाउने लगभग निश्चित जस्तै थियो । तर ८६औं मिनेटमा चोटबाट फर्किएका जोटाले गोल गर्दै आफ्नो टिमलाई हारबाट जोगाए ।

गत अक्टोबरयता जोटा साइडलाइनमा रहँदै आएका थिए । जोटाका लागि डाविन नुनियाजले बल उपलब्ध गराएका थिए । स्लटको नेतृत्वमा लिभरपूलले सबै प्रतिस्पर्धामा गरी २३ खेलमा १९ मा जित हात पारेको छ । फुलह्यामले भने सन् २०२१ पछि पहिलो पटक एनफिल्डमा लिभरपूललाई हराउने अवसर गुमायो ।

लिभरपूलको १५ खेलबाट ३६ अंक छ । नवौं स्थानको फुलह्यामको २४ अंक छ । आर्सनलले पनि एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाड्यो । तेस्रो स्थानमा कायमै रहेको आर्सनलको ३० अंक छ । चेल्सी १५ खेलबाट ३१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । चेल्सीले आज राति ब्रेन्टर्फडसँग खेल्दै छ ।



Enter Kantipur TV HD
Advertisement