रियल मड्रिडले गुमायो शीर्ष स्थानमा उक्लने मौका

मंसिर ३०, २०८१ |खेल ब्युरो
रियल मड्रिडले गुमायो शीर्ष स्थानमा उक्लने मौका

काठमाडौं । रियल मड्रिडले स्पेनिस लिग ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । गए रातिको खेलमा रायो भालेकानोसँग ३-३ गोलको बराबरीमा रोकिएसँग रियल मड्रिडले मौका गुमाएको हो ।

रियलले डिफेन्समा गरेको गल्तीको मूल्य चुकाएको हो । फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले चोटका कारण गए राति खेलेका थिएनन् । प्रशिक्षक कार्लोस एन्सेलोटीले भिनिसियस जुनियरलाई पनि सुरूआती ११ मा आराम दिने निर्णय गरे । खेलको चौथो मिनेटमा नै घरेलु टिमले गोल गर्दै रियललाई स्तब्ध पार्यो । भालेकोनाका लागि उनाइ लोपेजले गोल गरेका हुन् । ३६औं मिनेटमा अब्दुल मुनिमले अग्रता दोब्बर पारे ।

३९औं मिनेटमा रियलका फेडेरिको भाल्भर्डेले गोल गर्दै दूरी २-१ मा झारे । ४५औं मिनेटमा जुड बेलिङगमले बराबरी गोल फर्काए । २१ वर्षीय इंग्ल्यान्ड मिडफिल्डरले ला लिगामा लगातार छैटौं खेलमा गोल गरेका हुन् । उनले सबै प्रतिस्पर्धामा गरी रियलका लागि पछिल्ला आठ खेलमा सात गोल गरेका छन् ।

५६औं मिनेटमा रोद्रिगोले गोल गरेपछि रियलले तीन अंक जोड्ने सोचेको थियो । तर, ६४औं मिनेटमा भालेकानोका इसी प्लाजोनले गोल गरेपछि रियल निराश बनेको हो । दोस्रो स्थानमा रहेको रियलको १७ खेलबाट ३७ अंक छ । शीर्ष स्थानको बार्सिलोनासँग एक अंकको अग्रता छ ।

१३औं स्थानमा रहेको भालेकानोको १६ खेलबाट २० अंक छ ।



Enter Kantipur TV HD
Advertisement