एनपीएलको दोस्रो खेलमा सुदूरपश्चिम र पोखरा भिड्ने

मंसिर ३०, २०८१ |खेल ब्युरो
एनपीएलको दोस्रो खेलमा सुदूरपश्चिम र पोखरा भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन् । त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेबाट सुरू हुनेछ ।

सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफमा स्थान बनाउन चाहन्छ । पोखरा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

हिजो भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई हराएपछि विराटनगर र पोखरा बाहिरिएका थिए । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा आज सन्त्वना जित सहित प्रतियोगिता समाप्त गर्ने योजनामा छ । भुर्तेलको ब्याट प्रतियोगिताभर चलेन । उनले एक खेल बाहेक अन्य खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अर्कातर्फ सुदूरपश्चिमका सबै खेलाडी उच्च लयमा छन् । विशेषगरी कप्तान दीपेन्द्रसिंह ऐरीले अक्रमक ब्याटिङ गर्दै आएका छन् । तर पछिल्ला दुई खेलमा भने उनी सस्तैमा आउट भएका थिए । विनोद भण्डारी र इसान पाण्डे लगायतका नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । उसका विदेशी खेलाडी पनि लयमा छन् । तर आशिफ शेखको ब्याट भने चलेको छैन । यो खेलमा पराजित भए पनि सुदूरको अन्तिम ४ मा पुग्ने सम्भावना जीवित नै रहने छ ।

सुदूरपश्चिम ५ खेलमा ४ जित र १ हार सहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको पोखरा चार अंक सहित सातौं स्थानमा छ । 



Enter Kantipur TV HD
Advertisement