काठमाडौं । राफिन्हाको उत्कृष्ट प्रदर्शनको मद्दतमा बार्सिलोनाले ला लिगामा तीन खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । गए राति भएको खेलमा बार्सिलोनाले मायोर्कालाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाले खेल सुरू भएको १२औं मिनेटमा घरेलु टिम विरुद्ध अग्रता लिएको थियो । प्रशिक्षक हान्जी फ्लिक्सले उच्च गोलकर्ता रोवर्ट लेवान्डोस्कीलाई बेन्चमा राख्दै फरान टोरेसलाई सुरूआती एघारमा राख्ने निर्णय गरेका थिए । उनको विश्वासलाई टोरेसले सही साबित पनि गरे । उनैले बार्साका लागि पहिलो गोल गरेका हुन् ।
४३औं मिनेटमा मायोर्काका भेदात मुरिकीले गोल गर्दै खेल बराबरी गरेपछि बार्सिलोना दबाबमा आएको थियो । तर दोस्रो हाफमा बार्सिलोना आक्रामक रूपमा प्रस्तुत भयो । १२औं मिनेटमा राफिन्हाले पेनाल्टी मार्फत् गोल गर्दै पुनः आफ्नो टिमलाई खेलमा फर्काए । ७४औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेका थिए । यो पटक उनलाई लमिन यमालले क्रस दिए । कप्तान राफिन्हाको यो सिजनको एघारौं लिग गोल हो ।
७९औं मिनेटमा फ्राङकी डि योङले मायोर्कासँगको दूरी ४–१ मा पुर्याए । ८४औं मिनेटमा पाउ भिक्टरको गोलसँगै बार्सा ५–१ को जितका साथ लयमा फर्किएको छ ।
तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियाल मड्रिडसँग चार अंकको दूरी बनाएको छ । बार्सिलोनाको १६ खेलबाट ३७ अंक छ । दुई खेल कम खेल्दै दोस्रो स्थानमा रहेको मड्रिडको ३३ अंक छ । छैटौं स्थानको मायोर्काको १६ खेलबाट २४ अंक छ ।