काठमाडौं । एनपीएलमा चितवन राइनोजले पोखरा एभेन्जर्समाथि ८७ रनको जीत हात पारेको छ ।
प्रतियोगिता पूर्व तुलनात्मक रुपमा कमजोर मानिएको चितवनले दुई खेलबाट चार अंक जोडेको छ । पेस बलर सोहेल तन्विर र रिजन ढकालको धारिलो बलिङ सामु कुशल भुर्तेलको पोखराको ब्याटिङ कोल्याप्सनै भयो ।
टियु क्रिकेट मैदानमा पोखराले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो । सामान्य सुरुवात गरेको चितवनले ४६ रन हुँदा तीन विकेट गुमायो । दिपक बोहरा दुई रनमा आउट हुँदा हसन इसाखिल १४ र लुक बेन्केन्स्टाइन १६ रनमा आउट भए ।
चौथो विकेटका लागि कुशल मल्ल र रवि बोपारा बीच ६८ रनको साझेदारी भएपछि चितवनले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । मल्लले २३ वलमा ३८ रन बनाए । बोपाराले ३८ बलमा ५१ रनको योगदान गरे । उनले तीन चौका र तीन छक्का प्रहार गरेका थिए । सन्तोष कार्की र शरद भेष्वाकरले ११ –११ रन बनाए । चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको योगफल बनाएको थियो ।
विपिन खत्री, बास डि लिड र रेमोन रेइफरले २-२ विकेट लिए । जवाफमा चितवनले ‘पावर प्ले’मा नै ६ विकेट लिएपछि पोखरा सुरुमै धरासायी भयो । तन्विरले पहिलो ओभरमानै तीन ब्याटरलाई पभेलियन फर्काएपछि पोखरा कमजोर बनेको हो ।
तन्विरले भुर्तेललाई खाता खोल्न दिएनन् । भुर्तेल गोल्डेन डक आउट भएका हुन् । दिलिप नाथले चार रन जोडे । चार बल खेलेका उनले एक चौका प्रहार गरेका थिए । बास डि लिड पनि गोल्डेन डक आउट भए । दुवै तन्विरकै शिकार भए । रिजनले किरण ठगुन्नना र दिनेश खरेललाई १/१ तथा मिचेल लिस्क्लाई शुन्यमा मैदान बाहिर पठाए ।
रेइफर पनि आउट भएपछि पोखरा चार ओभरमा ७ रन ६ विकेटको नाजुक स्थितीमा पुगेको थियो । मार्कस क्रिस्लेले १७ र नारायण जोशीले ३० रन बनाएपछि पोखरालाई कम स्कोरबाट जोगाए । पोखरा १३ दशमलब दुई ओभरमा ७४ रनमा अल आउट भएको हो । बेन्केन्स्टाइनले पनि तीन विकेट हात पारे ।