काठमाडौं । यूएफा च्याम्पियन्स लिगमा आज समूह चरणका १० खेल हुँदैछन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले, जर्मन साइड बायर्न म्युनिखको भ्रमण गर्नेछ ।
एलियान्स एरिनामा हुने यो खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ । घरेलु टोली यो सिजन अपराजित रहँदै बुन्डेसलिगा तालिकाको शीर्ष स्थानमा छ । पछिल्ला पाँच खेलमा उसले गोल खाएको छैन । तर युरोपियन च्याम्पियनसिपमा भने मात्र दुई खेलमा जित हात पारेको छ ।
प्रशिक्षक भिन्सेन्ट कोम्पनी र हेरी केनले पिएसजीसँग कठिन प्रतिस्पर्धा हुने बताएका छन् । कोम्पनीले आफ्ना समकक्षी पिएसजीका लुईस इनरिकेको प्रशंसा गर्दै, फ्रेन्च टोलीमा ब्यक्तिगत प्रतिभावान खेलाडी रहेको उल्लेख गरे । पिएसजीले, च्याम्पियन्स लिगमा अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न सकेको छैन । तालिकाको २५ औं स्थानमा रहेको पीएसजीले चार खेलमा मात्र एकमा जित हात पारेको छ । १७ औं स्थानको बायर्नले दुईमा हार र दुईमा जीत निकालेको छ । प्रशिक्षक इनरिकेले यो खेल चुनौतीपूर्ण भन्दै अपेक्षाभन्दा माथिल्लो स्तरको प्रदर्शन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । यही समयमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा फाइनडसँग प्रतिस्पर्धा गर्नेछ ।
लगातार पाँच खेलमा पराजित भएको सिटीका प्रशिक्षक पेप ग्वार्डिवाला, इत्तिहाद स्टेडियममा आज दबाबमा हुनेछन् । रोड्रि लगायतका खेलाडी चोटग्रस्त हुनु सिटीका लागि मंहगो सावित भइरहेको छ । यस्तै बार्सिलोनाले पनि आजै ब्रेस्टसँग खेल्नेछ । लमिन यामलको अनुपस्थितिमा खराब प्रदर्शन गरिरहेको बार्सिलोना पुनरागमनको प्रयासमा छ ।
आर्सनलले स्पार्टिङको सामना गर्नेछ । प्रिमियर लिगमा नटिङ्गम फरेस्टलाई पराजित गर्दै लयमा फर्किएको आर्सनल तालिकाको १२ औं स्थानमा छ । इन्टर मिलान र लाइपजिग, स्लोभानले मिलान र स्पार्टाले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।