काठमाडौं । रियाल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले च्याम्पियन्स लिगअन्तर्गत लिभरपुलसँगको खेल गुमाउने भएका छन् ।
आइतबार ला लिगाअन्तर्गत लेगानेसविरुद्ध रियालले ३-० को सहज जित हात पारेको खेलमा भिनिसियसको खुट्टाको मांसपेशीमा चोट लागेको थियो । भिनिसियस तीनदेखि चार हप्तासम्म मैदान बाहिर रहन सक्ने रोयटर्सले जनाएको छ ।
उनी त्यति लामो समय मैदान बाहिर रहे विन्टर ब्रेकअघि सात खेल गुमाउन सक्ने बताइएको छ । जसमध्ये ला लिगामा गिरोना र एथ्लेटिक बिल्बाओ तथा च्याम्पियन्स लिगमा लिभरपुलसहित एटलान्टाविरुद्धको खेल पनि सामेल छ । भिनिसियसअघि रोड्रिगो, एडर मिलिटाओ, ड्यानी कार्भाजल, लुकास भाजक्वेज, ओरेलियन चौआमेनी र डेभिड अलाबा जस्ता प्रमुख खेलाडीहरू चोटको सिकार बनेका थिए ।
च्याम्पियन्स लिगका अन्तिम तीन खेलमा २ हार बेहोरेको कार्लो एन्सेलोटीको टोली खेलाडीको चोटका कारण एनफिल्डमा घरेलु टोली लिभरपुलविरुद्ध केही दबाबमा आउन सक्छ । ला लिगाको दोस्रो स्थानमा रहेको रियाल च्याम्पियन्स लिगमा चार खेलबाट ६ अंकसहित १८औं स्थानमा छ । च्याम्पियन्स लिगमा ३६ टोली समावेश छन् ।