यूएईमा हुने एसीसी पुरुष यू-१९ कप खेल्ने नेपाली टोलीको विदाई

मंसिर ११, २०८१ |खेल ब्युरो
यूएईमा हुने एसीसी पुरुष यू-१९ कप खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं । यूएईमा हुने एसीसी पुरुष अन्डर नाइन्टिन एसिया कप खेल्ने नेपाली टोलीको विदाई गरिएको छ ।

आज एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र अन्य खेल पादाधिकारीले नेपाली युवा टोलीको विदाइ गरेका हुन् ।

विदाई कार्यक्रममा पुरुष यू-१९ टिमका कप्तान हेमन्त धामी र प्रशिक्षक शक्ति गौचनले टिमको तरारी राम्रो भएको बताउँदै टिमले सकारात्मक नतिजा हात पार्ने विश्वास व्यक्त गरे ।

यू-१९ टोली टोली भोलि दिउँसो यूएई प्रस्थान गर्ने छ । टिमको उपकप्तानको जिम्मेवारी अर्जुन कुमालले सम्हाल्नेछन् भने धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

यू-१९ एसिया कप यही मंसिर १४ देखि २३ गतेसम्म यूएईमा हुँदैछ । यसै प्रतियोगिताको अन्तिम तयारी स्वरुप नेपाली युवा टोलीले कर्नाटकसँग ५ खेलको अभ्यास सिरिज खेलेको थियो । सो सिरिज नेपालले ३-२ ले जितेको थियो । प्रतियोगितामा एसियाका आठ देश सहभागी हुनेछन् ।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो पहिलो खेल मंसिर १४ गते श्रीलंकासँग, दोस्रो खेल १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्ने छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।