साउदी क्लब अल अहलीद्वारा यूएईको अल ऐन २-१ गोलले पराजित

मंसिर ११, २०८१ |खेल ब्युरो
साउदी क्लब अल अहलीद्वारा यूएईको अल ऐन २-१ गोलले पराजित

काठमाडौं । एफसी च्याम्पियन्स लिगअन्तर्गत एलिट समूह चरणको अर्को खेलमा शीर्ष स्थानको साउदी क्लब अल अहलीले यूएईको अल ऐनलाई २-१ गोलले पराजित गरेको छ ।

इंग्ल्यान्डका इभान टोनीले दुई गोल गरेपछि ग्रुप लिडर अल अहलीले साविक विजेता अल ऐनलाई पराजित गरेको हो । हज्जा बिन जायद रंगशालामा दुवै टोलीले पहिलो हाफ गोलरहित खेलेका थिए ।

७०औं मिनेटमा टोनीले रियाद महरेजको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै भ्रमण टोली अल अहलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेटपछि महरेजको क्रसमा टोनीले व्यक्तिगत दोस्रो गोल गरे ।

इन्जुरी समयको तेस्रो मिनेटमा वैकल्पिक खेलाडी अलेजान्ड्रो रोमेरोले भलीमार्फत घरेलु टोली अल ऐनका लागि सान्त्वना गोल फर्काए । तर त्यसले खेलको नतिजामा केही असर गरेन ।

यससँगै पाँचमध्ये पाँचौ खेल जितेर शत प्रतिशत नतिजा हात पारेको साउदी क्लब अल अहलीले ५ खेलमा १५ अंक जोडेको छ । ऊ समूहको शीर्ष स्थानमा छ । समान खेलमा जितविहीन अल ऐन १ अंकसहित पुछारमा छ ।