डेभिस कपको उपाधि इटालीलाई

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेभिस कपको उपाधि इटालीलाई

काठमाडौं । विश्व नम्बर एक यानिक सिनर नेतृत्वको इटालीले डेभिस कपको उपाधि रक्षा गरेको छ । इटालीले मालागामा भएको फाइनलमा नेदरल्यान्डसलाई दुई-शून्य सेटमा पराजित गरेको हो ।

सन् २०२४ मा उच्च प्रदर्शन गरेका सिनरले वर्षको सुखद् अन्त्य गरेका छन् । माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । उनले नेदरल्यान्डसका बोटिक भान ड सन्ड्सस्लपलाई सोझो सेटमा हराउँदै एक-शून्यको अग्रता दिलाए । बेरेटेनीले पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारेका थिए ।

दोस्रो सेट बेरेटेनीले ६-४ ले जितेपछि नेदरल्यान्डस दबाबमा आएको थियो । त्यसपछि आएका सिनरले ट्यालोन ख्रिस्परलाई हराएपछि इटाली च्याम्पियन बनेको हो । पहिलो सेट प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुग्यो । तर उच्च फर्ममा रहेका सिनरले ७-६ ले जिते । दोस्रो सेटमा नियन्त्रण जमाएका सिनर सहजै ६-२ ले विजयी भए ।

प्रतियोगिताको एक सय चार वर्षको इतिहासमा पहिलो फाइनलमै उपाधि जित्ने लक्ष्यमा रहेको नेदरल्यान्ड इटालीसामु कमजोर बन्यो । इटालीको यो तेस्रो डेभिस कप उपाधि हो । उसले गत संस्करण र १९७६ मा उपाधि जितेको थियो । २०२३ मा चोटका कारण कोर्टबाहिर रहेका बेरेटेनीले पनि उत्कृष्ट पुनरागमन गरेका छन् ।

एकंलमा लागेको चोटका कारण ६ महिना आराम गरेका बेरेटेनी वरीयताको शीर्ष १ सय ५० भन्दा बाहिर पुगेका थिए । तर मार्चमा फर्किएका उनले त्यसयता तीन उपाधि जितिसकेका छन् । हाल वरीयताको ३५औं स्थानमा रहेका बेरेटेनीले इटालीको उपाधि रक्षाको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरे । इटालीको महिला टिमले अघिल्लो साता बिली जिन किंग कप उपाधि जितेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.