काठमाडौं । मोहम्मद सलाहले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले तालिकामा आठ अंकको अग्रता बनाएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि तीन-दुई गोलको रोमाञ्चक जित हात पारेको हो ।
साउथह्याम्पटको सेन्ट मेरिज रंगशालामा पाहुना टोली लिभरपुलले ३०औं मिनेटमा अग्रता लिएको थियो । साउथह्याम्पटनका फ्लाइन डअनेसले आफ्नै पेनाल्टी एरियामा दिएको पासमा डोमिकिन सोबस्लाईले गोल गरेका थिए । ४२औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो ।
लिभरपुलका एन्डी रबर्टसनले टेलर डिब्लिङलाई फाउल गरेपछि साउथह्याम्पटनले भिडियो एसिस्टेन्ट रेफ्रिको माध्यमबाट पेनाल्टी पाएको हो । एडम आम्स्ट्रङले प्रहार गरेको पेनाल्टी लिभरपुल गोलकिपर कुइभेन केलहले बचाएका थिए । तर रिबाउन्ड गोल भएपछि पहिलो हाफ एक-एकको बराबरीमा सकियो ।
५६औं मिनेटमा माटेयस फर्नान्डेसले गोल गरेपछि लिभरपुल पछि पर्यो । तर, सलाहले दुई गोल गर्दै लिभरपुललाई जित दिलाए । ६५औं मिनेटमा सलाहले खेल दुई-दुईको बराबरीमा पुर्याएका थिए । ८३औं मिनेटमा पेनाल्टीमा उनैले गोल गरेपछि लिभरपुल विजयी भएको हो ।
सलाहको जारी सिजनको लिगमा यो दशौं गोल हो । लिभरपुलको १२ खेलबाट ३१ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ । अन्तिम स्थानमा रहेको साउथह्याम्पटनको मात्र चार अंक छ ।