काठमाडौं । साफ अन्डर-ट्वेन्टी महिला च्याम्पियनसिपको आउँदो संस्करण बंगलादेशमा आयोजना हुने भएको छ । आज विहान सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो ।
ढाकामा हुने प्रतियोगिता आगामी माघ ११ गतेदेखि फागुन ७ गतेसम्म चल्नेछ । यसअघि अन्जना राना मगरको कप्तानीमा रहेको नेपाली अन्डर नाइन्टिन टिम फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । त्यसपछि नेपाली अन्डर ट्वेन्टी टिमले भने अपेक्षित प्रदर्शन गर्न सकेन ।
नेपालले अन्डर एटिन, अन्डर नाइन्टिन र अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेको छैन । यो प्रतियोगितामा नेपाल दुई पटक फाइनल पुगेको छ ।
त्यसैगरी, साफ पुरुष अन्डर नाइन्टिन च्याम्पियनसिप २०८२ सालको कात्तिक १९ देखि २९ गतेसम्म हुने भएको छ । यो प्रतियोगिताको आयोजना अधिकार भारतले पाएको छ । समग्रमा १८, १९ र २० वर्षमुनिको साफ पुरुष च्याम्पियनसिपमा नेपाल दुई पटक विजेता बनिसकेको छ । अन्डर नाइन्टिनतर्फ नेपाल सन् २०१५ र अन्डर एटिनमा २०१७ मा च्याम्पियन बनेको थियो ।