बाल्यकालदेखि नै आक्रामक स्वभावका माइक टायसन जो १३ वर्षको उमेरसम्म ३८ पटक पक्राउ परे

मंसिर २, २०८१ |खेल ब्युरो
बाल्यकालदेखि नै आक्रामक स्वभावका माइक टायसन जो १३ वर्षको उमेरसम्म ३८ पटक पक्राउ परे

काठमाडौं । बढ्दो उमेरसँगै मानिसको शारीरिक क्षमतामा ह्रास आउनु स्वाभाविक हो । यही असर अमेरिकाका महान बक्सर माइक टायसनमा पनि देखियो । कुनै सयम विश्वभरका बक्सर टायसनसँग खेल्नु नपरोस् भनेर कामना गर्थे । तर समय चक्रले टायसनलाई केही शिथिल बनाएको छ ।

करिब २० वर्षपछि व्यावसायिक बक्सिङमा फर्किएका टायसन आफूभन्दा ३१ वर्ष कान्छा जेक पलसँग पराजित भए । अनुभवले पुरै ८ राउण्ड रिङमा टिके पनि २७ वर्षिय पल सामु टायसनको प्रदर्शन फिक्का देखियो ।

एटी एन्ड टी स्टेडियम आलिङटन, टेक्ससमा शनिबार ठूलो भिड नै लागेको थियो । ८० हजार दर्शक क्षमताको स्टेडियममा अमेरिकाका महान बक्सर माइक टायसन करिब २० वर्षपछि व्यावसायिक खेलका लागि रिङमा फर्किने भएपछि प्रशंसकको भीड थामि नसक्नुको थियो । आफ्नै देशका जेक पलसँग टायसनले खेल्ने तालिका थियो । तर टायसनले खेल भने जित्न सकेनन् ।

खेलका ३ निर्णायक मध्य दुईले पललाई ७९ र टायसनलाई ७३ अंक प्रदान गर्दा अर्का जजले ८०-७२ अंक दिए । पुरै ८ राउण्डसम्म चलेको खेलमा टायसनले सुरुवाती २ राउण्ड जिते पनि त्यसपछि २७ वर्षीय पलले कमब्याक गरे ।

युट्युबरबाट बक्सर बनेका पल र ५८ वर्षीय टायसनबीचको उमेर ३१ वर्षको अन्तर छ । पल पछिल्लो समय विश्व बक्सिङका चर्चित खेलाडी हुन् । २०२० मा व्यावसायिक बक्सिङ सुरु गरेका पलले ११ मध्ये १० खेल जितेका छन् ।

यस खेलका विजेता पलले ४० मिलियन र टायसनले २० मिलियन अमेरिकी डलर प्राप्त गरे । अनुभवले पुरै ८ राउण्ड रिङमा टिके पनि युवा बक्सर पलसामु टायसनको प्रदर्शन फिक्का देखियो । पञ्च र डिफेन्समा कमजोर देखिएका टायसनले खेल हारे पनि समर्थक भने निरास भएनन् । लिभिङ लेजेन्डलाई दुई दशकपछि रिङमा देख्न पाउँदा प्रशंसकहरुको खुसीको सिमा नै थिएन ।

यसअघि टाइसनले आफ्नो अन्तिम व्यावसायिक खेल सन् २००५ मा केभिन म्याकब्राइडविरुद्ध खेलेका थिए । सो खेलमा उनी पराजित भएका थिए । टायसनले व्यावसायिक बक्सरका रूपमा ५० खेल जितेका थिए । उनले ४४ पटक विपक्षीलाई नकआउट गरेका थिए । उनले आफ्नो पुरै करियरमा केबल ६ खेल हारेका थिए । सन् १९८७ मा टाइसनले सबैभन्दा कान्छो हेभीवेट च्याम्पियन बनेका थिए । त्यो बेला उनी २० वर्षका थिए ।

जुन ३०, १९६६ न्यूयोर्कमा जन्मिएका टायसन बाल्यकालदेखि आक्रामक स्वभावका थिए । टायसनको आक्रमताको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि १३ वर्षको उमेरसम्म उनी ३८ पटक पक्राउ परेका थिए । सन् १९८१ र १९८२ को जुनियर ओलम्पिक खेलमा लगातार स्वर्ण जितेपछि अमेरिकामा उनको चर्चा चुलिएको थियो ।

सन् १९८४ मा न्यूयोर्कमा भएको नेसन गोल्डेन ग्लोभ्समा जोनाथन लिटालाई हराएर टाइसनले स्वर्ण जितेका थिए । बिस्तारै टायसनले बक्सिङमा प्रभुत्व स्थापित गर्न थाले । टायसनले सन् १९८५ मा मात्र १८ वर्षको उमेरमा व्यावसायिक बक्सिङ सुरु गरेका थिए ।

व्यवसायिक र पारिवारिक जीवनमा भने टायसन लगातार जस्तो विवादमा परिरहे । तर बक्सिङ रिङमा उत्कृष्ट प्रदर्शनका कारण टायसनलाई 'आइरन माइक', 'किड डाइनामाइट' र 'द ब्याडेस्ट म्यान अन द प्लानेट' जस्ता उपनाम दिइएको छ ।