काठमाडौं । नेदरल्यान्डले हंगेरीलाई ४-० गोलले पराजित गर्दै यूएफा नेसन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।
एम्सडामस्थित योहान क्रफ स्टेडियममा गएराति भएको खेलको सातौं मिनेटमा हंगेरीका सहायक प्रशिक्षक आडाम सलाइ बिरामी परेपछि खेल रोकिएको थियो । केही समयको छलफलपछि हंगेरी खेल सुरु गर्न सहमत भयो । प्रशिक्षक आडामको स्वास्थ्यस्थिती अहिले स्थिर रहेको बताइएको छ ।
नेदरल्यान्डका कप्तान भर्जिल भान डाइकले तनावपूर्ण स्थितिमा पनि खेल्न तयार भएकोमा हंगेरीका खेलाडीको प्रशंसा गरे । २१ औं मिनेटमा बाउट बेखोर्स्टले पेनाल्टीमा गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । १३ मिनेटको इन्जुरी समयमा कोडी गाक्पोले पेनाल्टिमै गोल गरेपछि पहिलो हाफमा नेदरल्यान्ड २-० गोलले अघि रह्यो ।
हंगेरीका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै आफ्नो टिमलाई थप गोल खानबाट जोगाएका थिए । ६४औं मिनेटमा डेन्जेल डम्फ्रिजले टिमका लागि तेस्रो गोल थपे । ८५औं मिनेटमा टुन कोप्मेनर्सको गोलसँगै नेदरल्यान्डले प्रभावशाली जित दर्ता गर्दै अन्तिम आठको यात्रा तय गर्यो । लिग ए ग्रुप थ्रीमा नेदरल्यान्ड पाँच खेलबाट आठ अंक जोड्दै दोस्रो स्थानमा रहेको हो ।