काठमाडौं । आईसीसी अन्डर-नाइन्टिन महिला टि-ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले कुवेतमाथि १ सय ६५ रनको फराकिलो जित हात पारेको छ । नेपालको जितमा कप्तान पूजा महतोले ऐतिहासिक शतक प्रहारसँगै पाँच विकेट लिइन् ।
यूएईको द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा दुई विकेट गुमाएर २ सय १३ रनको योगफल बनाएको थियो । पहिलो विकेटका रुपमा सना प्रभिन ६ रनमा मैदान बाहिरिन् । सावित्रि धामीले ११ रन जोडिन् ।
तेस्रो विकेटका लागि पूजा र सोनी पाख्रिनले १ सय ५७ रनको अविजित साझेदारी गरे । पूजाले ६९ बलमा १ सय ३० रनको शानदार इनिङस खेलेकी हुन् । यो प्रतियोगिता इतिहासकै पहिलो शतक हो । यस्तै उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक बनाउने दोस्रो नेपाली महिला खेलाडी हुन् ।
यसअघि रुविना क्षेत्रीले गत फेब्रुअरीमा मलेसियामा भएको एसीसी प्रिमियर कपमा शतक बनाएकी थिइन् । अन्डर नाइन्टिनमा पूजा शतक बनाउने पहिलो हुन् । सोनीले ३३ बलमा ४३ रनको योगदान गरिन् । जिफा जिलानी र मारिया डि सुजाले एक एक विकेट लिए । पहिलो चरणको लिगमा पनि नेपालले कुवेतमाथि १ सय ८ रनको जीत हात पारेको थियो ।
जवाफमा कुवेत १३ ओभरमा मात्र ४८ रनमा अल आउट भयो । पूजाले कसिलो बलिङ गरेपछि कुबेतको इनिङस धरासायी भएको हो । जिलानीले ३६ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो रन छुन सकेनन् । आठ खेलाडीले खाता खोल्न सकेनन् । पूजाले चार ओभरमा एक मेडनसहित मात्र ८ रन खर्चिइन् । रचना चौधरी र सीमा केसीले दुई-दुई विकेट लिए ।