काठमाडौं । रामानुल्लाह गुरबाजको शतकको मद्दतमा अफगानिस्तानले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले हराएको हो ।
यूएईको सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको थियो । ओपनर सौम्य सरकारले २४ र तान्जिद हसनले १९ रन बनाए । जाकिर हसन ४ र ताहिद रिदोए ७ रनमा पभेलियन फर्किएपछि बंगलादेश दबाबमा आएको थियो । कप्तान मेहेदी हसन मिराजले ६६ र महमुदुल्लाहले ९८ रन जोडेपछि अफगानिस्तानले प्रतिस्पर्धात्मक लक्ष्य पाएको थियो ।
अज्मातुल्लाह ओमरजाइले चार विकेट लिए । जवाफमा अफगानिस्तानले १० बल बाँकी रहँदा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेर सिरिज दुई एकले आफ्नो पक्षमा पारेको हो । खराब सुरुवात गरेको अफगानिस्तानका तीन ब्याटर टिमको स्कोर ८४ रन हुँदा मैदान बाहिरिएका थिए ।
सेदिकुल्लाह अताइ १४, राहमत साह ८ र कप्तान हस्मातुल्लाह साहिदी ६ रनमा आउट भएका थिए । चौथो विकेटका लागि गुरबाज र अज्मातुल्लाह ओमरजाइले एक सय रनको साझेदारी गरेपछि अफगानिस्तान विजयी भएको हो । गुरबाजले १ सय १ रनको उत्कृष्ट इनिङस खेले । ओमरजाई ७० रनमा अविजित रहे । नाहिद राना र मुस्ताफिजुर रहमानले दुई-दुई विकेट लिए ।
पहिलो ओडिआईमा अफगानिस्तानले ९२ रनको जित हात पारेको थियो । दोस्रो ओडिआईमा ६८ रनको जितका साथ पुनरागमन गरेको बंगलादेश निर्णायक खेलमा भने चुक्यो । अफगानिस्तानले यसअघि दक्षिण अफ्रिकासँगको सिरिज पनि जितेको थियो ।