काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज कुबेतसँग प्रतिस्पर्धा गर्दैछ ।
युएईको दुबइस्थित द सेभेन्स स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले अहिलेसम्म एक मात्र हार बेहोरेको छ ।
डबल राउन्ड रोविन लिगका आधारमा भइरहेको छनोटमा नेपाल तालिकाको दोस्रो स्थानमा छ । चार खेलबाट नेपालको ६ अंक छ । अपराजित युएई ८ अंकका साथ शीर्ष स्थानमा छ । आज कुबेतविरुद्ध मैदान उत्रँदा नेपाल फराकिलो जित हात पार्दै नेट रन रेटमा बलियो हुने लक्ष्यमा हुनेछ ।
कुबेतले भने अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । यसअघि पहिलो चरणको लिगमा नेपालले कुबेतमाथि एक सय ८ रनको फराकिलो जित हात पारेको थियो । पहिले ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर १ सय ३० रनको योगफल बनाएको थियो ।
जवाफमा कुबेत १३ ओभरमा २२ रनमा अल आउट भएको थियो । आजै हुने अर्को खेलमा युएईले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो स्थानमा रहने टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछ ।