मोरङको उमागौरी कृषि सहकारी संस्थाका पीडितले अझै पाएनन् न्याय

कार्तिक २७, २०८१ |सुशीला पाठक
मोरङको उमागौरी कृषि सहकारी संस्थाका पीडितले अझै पाएनन् न्याय

विराटनगर । सर्वसाधारणको करोडौं रुपैयाँ हिनामिना गर्ने मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थाका पीडितले अझै न्याय पाएका छैनन् । सहकारीका सञ्चालक पक्राउ गर्न अदालतबाट पुर्जी जारी भए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । 

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला यो सहकारीको दुई कार्यकाल सञ्चालक भएकाले राजनीतिक संरक्षणकै कारण सञ्चालकहरु पक्राउ नपरेको आरोप पीडितको छ ।

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले असोज २ गते नै उमागौरी कृषि सहकारी संस्थाको अनियमितताको छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको थियो । त्यसको झन्डै डेढ महिनापछि प्रहरीले कात्तिक १४ गते सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको रोहवरमा सहकारी कार्यालयको ताला फोरेर सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

तर सञ्चालकहरु पक्राउ परेका छैनन् । सहकारीका बचतकर्ताहरु रकम फिर्ता गरी न्याय दिन माग गरिरहेका छन् । त्यति मात्र नभएर यो सहकारीले ऋणिका जग्गा बैंकमा धितो राखेर ठूलो रकम निकालेको खुलेको छ । सहकारीको ऋण चुक्दा गरिसक्दा पनि बैंकलाई समेत थप रकम तिरिरहनुपरेकाले आफूहरु दोहोरो मारमा परेको पीडितको गुनासो छ ।

सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिए पनि अहिलेसम्म कोही पक्राउ गरेको छैन । सहकारीका पदाधिकारीले केही पीडितलाई माघमा बैंक जानु भन्दै चेक दिएको खुलेको छ । त्यसरी चेक पाएकाहरु खुलेर बोल्न चाहँदैनन् । प्रहरीले भने सहकारीबाट बरामद कागजात अध्ययन भइरहेको जनाएको छ । सञ्चालकहरु पक्राउ नपरेका कारण परिणाम नदेखिएको तर्क प्रहरीको छ ।

सहकारीले फिर्ता गर्नुपर्ने २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ बचतकर्ताले मागेपछि अध्यक्ष रौनियार सहकारीको कार्यालय बन्द गरेर फरार छन् । १८ करोड ४९ लाख पुँजी रहेको सहकारीले वासलातमा १७ करोड ८७ लाख ४२ हजार रूपैयाँ कर्जा तथा सापटी रहेको देखाएको छ । ऋणीको जग्गा धरौटी राखेर सहकारीले विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएका कारण कर्जा चुक्ता गरेका ऋणीलाई फोन गरेर बैंकले रकम असुल गरिरहेको छ ।

सार्वजनिक लेखा समितिका सभापति एवम् एमाले नेता ऋषिकेश पोखरेलको संरक्षणमा उक्त सहकारीका सञ्चालकले सेयर सदस्यहरूलाई ठगेका हुन् । पोखरेलकी श्रीमती अञ्जला कोइरालासमेत २०७८ साल माघ पाँच गतेसम्म सञ्चालक रहेको देखिएको छ । 

सहकारी सञ्चालकलाई राजनीतिक संरक्षण भएकै कारण न्याय पाउन नसकेको पीडितको गुनासो छ । पक्राउ पुर्जी जारी भएकाहरुमा पोखरेलकी पत्नी अञ्जलाको नाम भने नभएको स्रोतले बताएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।