आईसीसी यू-१९ टी-२० महिला विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी यू-१९ टी-२० महिला विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी अन्डर-१९ टी-२० महिला विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

सेभेन्स स्टेडियम दुबईमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको खोजिमा हुने छ ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार पारेको थियो । जवाफमा थाइल्यान्डले कमजोर प्रदर्शन गर्दै ११ ओभर ४ बलमा केवल ३५ रन बनाएर सबै विकेट गुमाएको थियो । थाइल्यान्डविरुद्ध कप्तान कप्तान पुजा महोतोले अलराउन्ड प्रदर्शन गर्दा रचना कुमारी चौधरीले बलिङ मार्फत उत्कृष्ट योगदान दिएकी थिइन् ।

पुजाले ३५ र बनाउँदा २ विकेट हात पारेकी थिइन् । रचनाले एकै ओभरमा ३ विकेट लिएपछि थाइल्यान्डले खेलमा पुनरागमन गर्न सकेन । रचनाले ३ ओभरमा १२ रन खर्च गरेर ४ विकेट लिएकी थिइन् ।

नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५ रनको योगदान दिइन् । सोनी पाख्रिन १९ रनमा आउट हुँदा सिमाना केसी १९ रनमा नटआउट रहिन् । थाइल्यान्डकी चारुकन सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।

हिजै भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली यूएईएले कुवेतलाई १ सय ३ रनले पराजित गरेको थियो । कुवेत यस खेलमा पुनरागमन गर्ने लक्ष्यमा हुने छ । कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्यान्डको सहभागिता रहेको छ । 

डबल राउन्ड रोबिनका आधारमा खेलिने प्रतियोगितको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने अन्डर- १९ टी-२० विश्वकपका लागि छनोट हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.