विराटनगर । सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो पटक नरेश श्रेष्ठ स्मृति अन्डर-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा आज भएको फाइनलमा लुम्बिनी प्रदेशविरुद्ध ८ रनको रोमाञ्चक जित हात पार्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । अघिल्लो संस्करण पनि लुम्बिनीलाई नै हराएर सुदूरपश्चिमले उपाधि जितेको थियो । स्कोर बोर्डमा १ सय २७ रन मात्र बनाए पनि बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेपछि सुदूरले सामान्य योगफल पनि रक्षा गर्यो ।
गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय २७ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि ओपनर अभिषेक थापाले २९, राजेश ऐरले १४, दिपक रोकायाले ११, नरेन भट्टले २७ र नरेन साउदले १५ रनको योगदान दिए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका सन्तोष यादवले १० ओभरमा २८ रन खर्चिँदै ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा शिव कुँवरले १ विकेट हात पारे ।
१ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले सर्वाधिक २२ रन बनाए । शिव कुँवरले २०, विजय कोहरले १९ र समिर अलिले १८ रन बनाए । सुदूरपश्चिमको जितमा कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन साउदले समान २ तथा अशोक धामीले १ विकेट लिए ।
लिग चरणको खेलमा सुदूरपश्चिम र लुम्बिनीले समान ५ खेलमा जित हासिल गरेका थिए । लिग चरणमा लुम्बिनीले सुदूरपश्चिममाथि ४१ रनको जित हात पारेको थियो । सुदूरले सोही हारको बदला दिँदै च्याम्पियन बन्यो ।