यू-१९ महिला विश्वकपको एसिया छनोट : नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ महिला विश्वकपको एसिया छनोट : नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौं । आईसीसी अन्डर १९ महिला विश्व कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । यूएईमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । 

नेपालको जितमा कप्तान पुजा महोतोले ब्याटिङ र रचना कुमारी चौधरीले बलिङ मार्फत उत्कृष्ट योगदान दिइन् । यूएईको अजमानमा थाइल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५ रनको योगदान दिइन् । सोनी पाख्रिन १९ रनमा आउट हुँदा सिमाना केसी १९ रनमा नटआउट रहिन् । थाइल्यान्डकी चारुकन सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।

१ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको थाइल्यान्डले कमजोर प्रदर्शन गर्दै ११ ओभर ४ बलमा केवल ३५ रन बनाएर सबै विकेट गुमायो । अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका चार खेलाडीले खाता समेत खोल्न सकेनन् ।

रचनाले एकै ओभरमा ३ विकेट लिएपछि थाइल्यान्डले खेलमा पुनरागमन गर्न सकेन । रचनाले ३ ओभरमा १२ रन खर्च गरेर ४ विकेट लिइन् । कप्तान पुजा र रिया सर्माले २–२ तथा कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले १–१ विकेट लिए ।

आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली यूएईले कुवेतलाई १ सय ३ रनले पराजित गर्यो । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग खेल्नेछ । कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली यूएई, कुवेत र थाइल्यान्डको सहभागिता रहेको छ । डबल राउन्ड रोबिनका आधारमा खेलिने प्रतियोगितको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने अन्डर १९ टी–२० विश्वकपका लागि छनोट हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.