दिदी-बहिनी रिया र सुक्रिया मियाको फुटबल यात्रा, सपना पच्छ्याउँदै अघि बढ्दै

आश्विन २६, २०८१ |विनयज्योति सापकोटा
दिदी-बहिनी रिया र सुक्रिया मियाको फुटबल यात्रा, सपना पच्छ्याउँदै अघि बढ्दै

काठमाडौं । काठमाडौंमा सम्पन्न एन्फा महिला लिगको लिग चरणका खेल सकिएका छन् । यो लिगले सुक्रिया मिया, ममता पुन, चन्द्रा भण्डारी, तुलसा बोहरा, सजिना कोइराला, खुस्मा राई, नेहाकुमारी चौधरीजस्ता नयाँ खेलाडीलाई पहिचान दिएको छ । नेपाली महिला फुटबलरले युरोपमा करियर खोज्न सुरु गर्दा देखिएका यी 'ट्यालेन्ट' नेपाली फुटबलका भविष्य हुन् । आज हामी तपाईंलाई यिनै मध्येकी एक सुक्रिया मियाका बारेमा चर्चा गर्नेछौं ।

१६ वर्षीया सुक्रिया मियाको फुटबल यात्रा दिदी रिया बानुको चोटपछि सुरु भएको हो । स्याङ्जाको वालिङमा सानैबाट दाईसँग फुटबल खेल्न जाने भएकाले रियाका धेरै केटी साथी नै भएनन् । गाउँका महिलाले नुरियालाई साथी नै नबनाउन भनेको सुनेपछि त झन् उनलाई पीडा भएको थियो । यद्यपि उनले फुटबल छोडिनन् । 

उमेर समूहबाट साफ च्याम्पियनसिप पनि खेलिन् । तर, एक दिन यस्तो चोट लाग्यो- जसलाई पन्छाएर कमब्याकको प्रयास गरे पनि सफल भइनन् । रिया आफ्नी आमा सुकुरासँग खुब रोइन् । दिदीको आँसु देखेपछि सुक्रियाले फुटबलर बन्ने अठोट गरिन् । त्यसपछि नुरियाले समेत आफ्नो फुटबल सपनासमेत सुक्रियामा देख्न थालिन् । 

'म खेल्न नपाउँने भएँ भनेर धेरै रोएपछि, बहिनीले मलाई सान्त्वना दिई, आँसु पुछिदिई, म पूरा गर्छू तपाईंको सपना भनेर भनी' रिया बानु अहिले पनि आफू चोटग्रस्त भएको क्षणमा बहिनी सुक्रियाले दिएको ढाडस सम्झिन्छिन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा भएको महिला लिगमा वालिङले शीर्ष पाँचमा भने स्थान सुरक्षित गर्न सकेन । तर, टिममा सुक्रियाको योगदान महत्वपूर्ण रहेको प्रशिक्षक दिलिप थापा बताउँछन् । 

सानैदेखि दिलिपकै प्रशिक्षण पाएकी सुक्रियाले विद्यालयको एथ्लेटिक्समा समेत सहभागी बनेर पदक जितेकी छन् । अहिले सुक्रिया पहिलो पटक राष्ट्रिय टिमको बन्द शिविरका लागि छानिएकी सबैभन्दा कान्छी खेलाडी हुन् । 

आक्रामक शैलीमा खेल्न रुचाउने सुक्रिया भन्छिन्, 'सावित्रा दिदीहरुलाई देखेरै, मलाई प्रेरणा मिल्छ ।भविष्यमा कति सकिन्छ, सावित्र दिदी, रेखा दिदीहरु जस्तै प्रदर्शन गर्ने सपना छ ।' 

दुई वर्षअघि बंगलादेशमा सम्पन्न अन्डर-फिफ्टिन साफ जितेपछिको गोल्ड मेडल आमा सुकुरालाई लगाइदिएपछि सारा गाउँले सामु सुक्रिया उदाहरणीय बनिन् । वास्तवमै त्यो मेडलको हकदार आमा थिइन् । सुकुराले चार छोरा र चार छोरी गरी आठ सन्तानलाई हुर्काइन् । सुक्रियाले बाबुको माया मात्र होइन, सहयोग पनि पाइनन् । 

बैंकबाट लिएको ऋणले पसल सुरु गरेकी सुकुराले धेरै सन्तानलाई एक्लै हुर्काउने हिम्मत हारिनन् । पहिले फुटपाथमा पसल गर्ने सुकुराको अहिले वालिङमा सटर भाडामा लिएर कपडा बेच्छिन् । 

सुकुरा भन्छिन्, 'मुस्लिम समुदायमा छोरीलाई खेल्न पठाए 'हराम' हुन्छ भन्ने चलन छ । तर, मैले छोरीहरुलाई खेल्नबाट रोकिनँ ।' 

सुकुराले छोरीहरुको इच्छा कहिल्यै मारिनन् । त्यसैले त रिया बानु नेपाली उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने पहिलो मुस्लिम महिला खेलाडी बनिन् । अहिले सुक्रिया नेपाली सिनियर टिमको बन्द प्रशिक्षणमा परेकी एक्लो मुस्लिम खेलाडी हुन् ।

महिला लिगको आठौं चरणमा आर्मीविरुद्धको खेल सुक्रियाका लागि सपनाजस्तै थियो । किनभने फुटबल सपना नै मारिसकेकी रियालाई पनि प्रशिक्षक थापाले टिममा बोलाएका थिए । अनि दिदी बहिनीले एउटै ड्रेसिङ रुम सेयर गरेका थिए । त्यति मात्र होइन, खेलको १० मिनेट बाँकी रहँदा सुक्रियाको ठाउँमा मैदान प्रवेश गरेर रियाले वर्षौंदेखिको सपना पूरा गरिन् । रियाले भविष्यमा खेल्न पाउँछिन् या पाउँदिनन् त्यो पछिको कुरा हो । तर, यी दिदी-बहिनीको फुटबल यात्रा मुस्लिम महिला खेलाडीका लागि मात्र होइन सबैका लागि प्रेरणा हो ।

एन्फा महिला लिगले सुक्रिया मात्र होइन, उनीजस्ता अन्य जुझारु खेलाडीको पहिचानमा सहयोग गरेको छ ।

सुक्रियाजस्ता यहाँ धेरै उत्कृष्ट खेलाडी छन् । जो अवसरबाट वञ्चित छन् । सबैलाई अवसर प्रदान गर्न फुटबल राजधानी केन्द्रित मात्र नभएर देशका हरेक क्षेत्रका खेलाडीको पहुँचमा पुर्‍याउनु समेत आवश्यक छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement