आईसीसी महिला टी-२० विश्वकपमा वेस्ट इन्डिजद्वारा बंगलादेश ८ विकेटले पराजित

शीर्ष स्थानमा उक्लिएको वेस्ट इन्डिजको सेमीफाइनल सम्भावना जीवितै
आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी महिला टी-२० विश्वकपमा वेस्ट इन्डिजद्वारा बंगलादेश ८ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकपमा वेस्ट इन्डिजले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । यो जितपछि चार अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको वेस्ट इन्डिजको सेमिफाइनल पुग्ने आशा जीवीतै बनेको छ ।

युएईको सारजाह क्रिकेट स्टेडियममा वेस्ट इन्डिजकी क्याप्टन, हेली म्याथ्युजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन् । बंगलादेशले सामान्य ब्याटिङ गर्दै २० ओभरमा आठ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । पावर प्लेमा बंगलादेशले दुवै ओपनर गुमायो ।

‘साथी रानी’ नौ र दिलारा अक्तर १९ रनमा पभेलियन फर्किए । सोभाना मोस्तारी १९ रनमा मैदान बाहिरिँदा ताज नेहार मात्र एक रनमा आउट भइन् । सोर्ना अक्तरले खाता खोल्न सकिनन् । कप्तान निगार सुल्तानाले सर्वाधिक ३९ रन बनाएकी थिइन् । बलिङतर्फ करिश्मा रामहराकले उत्कृष्ट प्रदर्शन गरिन् । उनले चार ओभरमा १७ रन खर्चिएर चार विकेट लिएपछि बंगलादेशको इनिङस धरासायी बनेको हो ।

जवाफमा वेस्ट इन्डिजले ४३ बल अघिनै मात्र दुइ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । म्याथ्युज र स्टेफानी टेलरले ५२ रनको ओपनिङ साझेदारी गरे । म्याथ्युजले ३४को योगदान गर्दा टेलर २७ रनमा ‘रिटायर्ड हर्ट’ भइन् । सिमेन क्याम्बेलले २१ रन जोडिन् । डेन्ड्रा डोटिन १९ रनमा अविजीत रहिन् ।

नाहिदा अक्तर र मारुफा अक्तरले एक एक विकेट लिए । वेस्ट इन्डिजको तीन खेलमा यो दोस्रो जित हो । समूह बी को दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको पनि समान चार अंक नै छ । इङल्यान्ड चार अंक नै बनाएर तेस्रो स्थानमा छ । तर उसले एक खेल कम खेलेको छ । बंगलादेशको यो तीन खेलमा यो दोस्रो हार हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement