यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई दिइने भएको छ। विश्वमा अणविक निषेध कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै निहोन हिदान्क्योलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय भएको हो ।

यो संस्था हिरोसिमा र नागासाकीमा सन् १९४५ मा भएको आणविक विष्फोटमा बाँचेकाहरुले सञ्चालन गरेको हो । नर्वेको ओस्लोमा आयोजित एक कार्यक्रममा आणविक विष्फोटमा बाँचेकाहरुको समूह निहोन हिडान्क्योलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

कार्यक्रममा नोबेल समितिका अध्यक्ष जोर्गेनसेन फ्रेडनेसले उक्त समूहले आणविक निषेध कार्यक्रममा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि २ सय ८६ जना मनोनयनमा परेका थिए । जसमा १९७ व्यक्ति र ८९ संस्था थिए ।

निहोन हिदान्क्योको वेबसाइटका अनुसार सन् १९५६ मा स्थापना भएको यो संस्थाले जापानमा भएको आणविक हमलाबाट बचेकाहरूलाई विश्वभर पठाउँछ। समूहले विश्वभरका मानिसहरूलाई आणविक हतियारले गर्दा हुने भयानक विनाश र यसले निम्त्याउने पीडाको बारेमा सचेतना फैलाउँदै विश्वलाई अणविक हतियार निषेध गर्न खबरदारी गर्दै आएको छ ।

नोबेल पुरस्कारको राशि १ करोड १० लाख स्वीडिश क्रोनर अर्थात् १० लाख अमेरिकी डलर छ । पुरस्कार राशि ओस्लोमा डिसेम्बर १० मा प्रदान गरिने छ । गत वर्ष यो पुरस्कार इरानी मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement