दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा समयमै पूर्वाधार बन्नेमा आशंका

प्रतियोगिता निर्धारित समयमै हुनेमा शंका
भाद्र ६, २०८१ |कमल पन्त
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा समयमै पूर्वाधार बन्नेमा आशंका

सुर्खेत । कर्णाली प्रदेशले आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । तर, प्रतियोगिता निर्धारित समयमै हुनेमा शंका उब्जिएको छ । प्रतियोगिता सुरु हुने समयसम्म उद्घाटनस्थल प्रदेश रंगशाला निर्माण नसकिने भन्दै संघीय सरकारले प्रतियोगिता केही समय पछाडि धकेलिने संकेत गरेको हो । तर राष्ट्रिय खेलकुद परिषद्ले भने तोकिएकै मितिमा प्रतियोगिता गर्न सक्षम रहेको दाबी गरेको छ ।

आगामी मंसिर २ गतेदेखि सुरु हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशले सुर्खेतसहित जुम्ला, हुम्ला, कालिकोट, सल्यान, रुकुमपश्चिम लगायतका जिल्लामा पूर्वाधार निर्माण गरिरहेको छ । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश रंगशालाबाहेक अन्य सबै पूर्वाधार अन्तिम चरणमा पुगेका छन् । उद्घाटन हुने भनिएको प्रदेश रंगशालाको मुख्य छानो, भीआईपी प्यारापिट जडान र रंगरोगन जस्ता काम अझै बाँकी छन् ।

यहीकारण संघीय सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न हुनेमा आशंका गरेको हो । सुर्खेत पुगेर प्रदेश रंगशालाको अवलोकन गर्दै संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले हप्तादिनभित्र रंगशाला निर्माणको बाँकी काम सम्पन्न हुने आधार तयार नभए प्रतियोगिता पछाडि धकेलिने संकेत गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् भने प्रतियोगिता तोकिएकै समयमा गर्न तयार रहेको भन्दै बाँकी कुरा प्रदेश सरकारमा निर्भर रहेको बताउँछ । पूर्वाधारहरु निर्माण सक्ने प्रतिबद्धता जनाए तोकिएकै समयमै प्रतियोगिता गराउन तयार रहेको परिषद्को भनाइ छ ।

कर्णाली प्रदेश सरकार पनि जस्तोसुकै परिस्थितिमा पनि तोकिएकै समयमा दशौं राष्ट्रिय खेलकुद गर्न तयार रहेको दाबी गर्दै पूर्वाधारका कारण प्रतियोगिता पछाडि नधकेलिने जिकिर गरेको छ । प्रदेशमै २४ वटा खेल खेल्न मिल्ने गरी पूर्वाधार निर्माणको अन्तिम चरणमा रहेको र प्रदेश रंगशालाको काम पनि करिब ९० प्रतिशत सकिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको कर्णाली प्रदेशले खेल पूर्वाधारको निर्माण, खेलाडी उत्पादन र खेलाडीहरुलाई प्रशिक्षा तथा प्रोत्साहनलाई एकैसाथ अगाडि बढाएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २४ वटा खेलमात्र आयोजना गर्ने तयारी गरेको छ । बाँकी खेल कहाँ गर्ने भन्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गर्नेछ । 


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।