पेरिस पारा ओलम्पिक खेल्ने तेक्वान्दोका भरतसिंह र पलेशाको प्रशिक्षण बेलायतमा जारी

श्रावण ३२, २०८१ |प्रदीप लेखी
पेरिस पारा ओलम्पिक खेल्ने तेक्वान्दोका भरतसिंह र पलेशाको प्रशिक्षण बेलायतमा जारी

काठमाडौं । यही भदौ १२ देखि फ्रान्सको पेरिसमा हुने पारालम्पिकमा नेपालबाट पारा तेक्वान्दो विधातर्फ दुई खेलाडी सहभागी हुँदैछन् । पुरुषतर्फ भरतसिंह महता र महिलातर्फ पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्ने छन् । भरतको पहिलो पारालम्पिक सहभागिता हुनेछ भने पलेशाको दोस्रो । नेपाल तेक्वान्दो महासंघको सहयोगमा दुवै खेलाडीले बेलायतमा प्रशिक्षण लिइरहेका छन् । भदौ ९ गते प्रशिक्षण सकेर उनीहरु उतैबाट फ्रान्स जाने छन् ।

अपाङ्गता तथा विशेष क्षमता भएका खेलाडीले खेल्ने खेलकुद नै पारा खेलकुद हो । अन्य खेलाडी जस्तै पारा खेलाडीका लागि पनि ओलम्पिक गरिन्छ, जसलाई पारालम्पिक भनिन्छ । यसपटक पनि फ्रान्समा आयोजित पेरिस ओलम्पिक सकिएको केही हप्तामै पारालम्पिक सुरु हुँदै छ । नेपालबाट पारातेक्वान्दो खेलाडी भरतसिंह महता र पलेशा गोवर्धन पारालम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् । नेपालमै केही हप्ता प्रशिक्षक कविराज नेगी लामासँग प्रशिक्षण लिएका खेलाडीलाई नेपाल तेक्वान्दो महासंघले बेलायतमा प्रशिक्षणको वेवस्था मिलाएको हो । उनीहरु प्रशिक्षक लामासँगै एक महिना अघि बेलायत गएर त्यहााका प्रशिक्षक एन्डि्रओ डेरसँग प्रशिक्षण लिइरहेको छ । जुन प्रशिक्षणमा बेलायतका खेलाडीसमेत छन् ।

वाइल्ड कार्डबाट पारालम्पिकमा छनोट भएका भरतसिंह महता पुरुष ५८ केजी मुनिको तौल समूहमा सहभागी हुनेछन् । एसियन क्वालिफाइ भएर सिधै पारालम्पिकको मौका पाएकी पलेशा गोवर्धन ५७ केजी मुनिको तौलमा भिड्ने छिन् । भरतले अगस्ट २९ र पलेशाले अगस्ट ३० मा प्रतिस्पर्धा गर्ने छन् । दुवै खेलाडी उच्च संरचना र त्यहीअनुसारको प्रशिक्षक तथा म्याच एक्सपोजर र स्पाइरिङ पार्टनर पाउँदा उत्साही छन् । दुवैको लक्ष्य छ- राष्ट्रका लागि पदक दिलाउने ।

यसअघि ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ र पौडीका अलेक्जेण्डर शाह तथा डुवाना लामाबाहेक सबै खेलाडीले स्वदेशमै प्रशिक्षण लिएका थिए । त्यसको तुलनामा पारा तेक्वान्दो खेलाडीले राम्रो अवसर पाएका छन् । खेलाडीसँगै प्रशिक्षक नेगी लामाले पनि वैदेशिक प्रशिक्षणमा सहभागी हुन पाउँदा खेलाडीको कमीकजोरी र समस्याको मात्र जानकारी प्राप्त गर्ने छैनन्, नयाँ तरिका अनुसरणको मौकासमेत पाउने छन् । जसको फाइदा भोलिका दिनमा नेपाललाई नै हुने छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement